फेसबुकको चिनजान परदेशीसँगै घरदेशीलाई पनि महङ्गो

प्रकाशित समय 6:05:00 PM
दुर्गाप्रसाद भट्टराई
सर्लाही, १८ भदौ । सर्लाहीका रामकेवल महतोले दुई वर्ष अघि राजविराजकी ललिता मगरलाई फेसबुकमा भेट्यो । ललिताले ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएपछि रामकेवलले उनलाई साथी बनाए । त्यतिबेला रामकेवल मलेसियामा थियो । साथी भएपछि दुई जनाबिच कुराकानी बाक्लियो । सुखदुःखका गफ हुन्थे । तर गफ बिस्तारै जिन्दगीका बारेमा हुन थाले । अथवा दुवै जना बिहे गर्ने मनस्थितीमा पुगे ।
ललितासँग चिनजान भएको झण्डै डेढ वर्षमा नेपाल आएका रामकेवल आफ्नो घर नपसी सिधै ललिताको घर सप्तरीका राजविराज पुगे । अनि भागेर विवाह गरे । सप्तरी पुगेर बिहे गरेका रामकेवल झण्डै १० दिनपछि घर फर्किए । कमाउन गएको छोरा थाहै नदिई बुहारी लिएर आइपुग्दा आमा झस्किइन् । एक त सल्लाह बिनाको बिहे त्यसमाथि अन्तरजातीय । त्यसैले मन खुसी नहुँदा नहुँदै पनि बुहारी भित्र्याइन् ।
केही महिनासम्म त सबै कुरा राम्रो थियो तर गाउँले कुरा काट्न थालेपछि भने सासु बुहारीको सम्बन्ध चिसियो । ‘गाउँलेले आमालाई न जात मिल्छ न रहनसहन अनि किन सँगै बसेकी भनेछन् त्यसपछि दुई जनाको सम्बन्ध चिसियो’ रामकेवल भने ‘पछि त बोलचाल नै बन्द भयो ।’
परिवारसँग कुरा नमिलेपछि रामकेवल श्रीमतीतिर लागे । ललिता घर छोडेर माइत गइन् । रामकेवल पनि उनीसँगै गए । कमाउन गएको छोरोले न पैसा पठाए न जाँदा लागेको ऋण तिरे । आफू खुसी बिहे गरेर आएपछि परिवार समस्यामा परेको छ । ‘ऋण जस्ताको तस्तै छ अनि छोरो पनि टाढा भयो’ रामकेवलकी आमाले गुनासो गरे ।
मिनालाई पाँच महिना अघि नचिनेको मान्छेले फेसवुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठायो । उनका श्रीमान् त्यतिबेला मलेसियामा थिए । मिनासँग साथी भएको त्यो व्यक्तिले उनीसँग मित दाईको नाता लगायो । मिनाका दाई साउदी अरबमा भएकाले मिनाले उसका कुरा पत्याइन् ।त्यो व्यक्तिले तिम्रो दाईसँग बुझेको भन्दै सबै कुरा सुनायो पनि । एकदिन दुई दिन हुँदै उनीहरुबिचमा दिनहुँ कुराकानी हुन्थ्यो ।  तीन महिनापछि त त्यो व्यक्ति मिनाको मित दाजु हुँ भन्दै घरमै आइपुग्यो । मिनाका सासु ससुरासँगै चिनजान गरेर खाना पनि खाएर बिदा भयो । जाने बेलामा उसले आफ्नो घर झापा हो भनेको थियो ।
त्यसको केही दिनपछि बजार जान्छु भनेर घरबाट हिँडेकी मिना बजारमा त्यही मितदाजुसँग गफ गर्दै गरेको गाउँले देखे । मिनाले ती व्यक्तिलाई बैंकबाट दुई लाख रुपैयाँ निकालेर सापट दिइन् । उनीहरुले सँगै बसेर चिसो खाए । त्यतिसम्म थाहा पाएकी मिनाले होसमा आउँदा आफूलाई काठमाडौंको पशुपति मन्दिर परिसरमा पाए ।
पशुपतिमा मिनालाई गाउँकै भाइले भेटेपछि घर पठाइदिए । मिना घर त पुगिन तर ससुराले घरमा पस्न दिएनन् । ‘एकछिन भनेर बजार हिँडेकी मान्छे सात दिन पछि घर आई अनि कसरी भित्र्याउनु त्यसैले अब छोरा आएपछि उसले जे गर्छ गरोस्’ मिनाले ससुराले आफूलाई भनेका कुरा सुनाए । घरमा पस्नै नपाएपछि मिना अहिले माइतमै बस्छिन् । समस्यामा परेपछि साउदीमा भएका दाइसँग बुझ्दा दाइ झापाको कुनै साथी नै नभएको बताएपछि मिना के गर्ने के नगर्ने दोधारमा परेको छ । यही कारण मिना मानसिक समस्यामा छिन् । कहिले एक्दै बोल्छिन् त कहिले एकोहोरिरहन्छिन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »