भ्रष्टचारीले चुनाव लड्न नपाउने

प्रकाशित समय 8:20:00 PM
काठमाडौं, १९ भदौ । भ्रष्टचारीलाई चुनाव लड्न प्रतिबन्ध लगाउँदै ब्यवस्थापिका संसदले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
राज्य ब्यवस्था समितिले आफ्नो प्रतिवेदनसहित संसदको सोमबारको दोस्रो बैठकमा प्रस्तुत गरेको विधेयक सामान्य छलफल पछि सोमबारै बसेको तेस्रो बैठकले बहुमतले पारित गरेको हो । नेपाल मजदुर किसान पार्टी संसदमा निर्णयार्थ प्रस्तुत भएका दुवै विधेयकको बिपक्षमा उभिएको थियो ।
संसदले विधेयक पारित गरेसँगै भ्रष्टचारी ठहर भएका व्यक्ति उम्मेद्वार हुन नपाउने भएका छन् । यस्तै जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध विक्रि वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरणसम्वन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य ठहरिने विधेयकको दफा १३ को (ङ) मा उल्लेख छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नो भोटको प्रावधान नहुने भएको छ भने समान मत ल्याए गोलाप्रथाबाट विजयी छान्ने पुरानै ब्यवस्थाले निरन्तरता पाएको छ । निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले नै घोषणा गर्न पाउने भएको छ । मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने व्यवस्था ऐनमा नै उल्लेख गर्न भन्दै सांसदले संसोधन दर्ता गराएका थिए ।
उद्यपी राज्य व्यवस्था समितिबाट मूल विधेयकमा रहेको प्रावधानलाई नै अन्तिम रुप दिएको थियो । समितिको प्रतिवेदन सहितको विधेयकमाथीको छलफलका क्रममा सांसदले साना दलको अस्तीत्व नै समाप्त पार्ने गरी विधेयक ल्याएको बताएका थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेमकिपाका प्रेम सुवालले विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा राना दलको भूमिका उल्लेख भएपनि अहिले उपेक्षा गर्न खोजिएको बताएका हुन ।
सांसदहरु शक्ति बस्नेत, श्याम कुमार श्रेष्ठ काभ्रे, जनकराज जोशी, परशुराम तामाङ लगायतले भने भ्रष्टचारीले चुनावमा उम्मेदवार बन्न नपाउने गरी विधेयक आउनु सकारात्मक भएको बताए । विधेयकमाथी सांसदले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री जनार्दन शर्माले संविधानको मूल मर्म अनुसार नै विधेयक रहेकाले सबैले सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यसैबीच राज्य व्यवस्था समितिको सोमबार विहान बसेको बैठकमा विधेयकमाथी परेका संसोधन प्रस्ताव संशोधनकर्ताले फिर्ता लिएपछि विधेयक पारित भएको थियो । प्रदेश सभा सदस्य निर्वाचन सम्वन्धी विधेयकमा २ सय ५९ र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्वन्धी विधेयकमा ३ सय १२ वटा संसोधन परेका थिए ।
भ्रष्टचारी सहित बिभिन्न अपराधमा जेल सजाय काटेका व्यक्तिले समेत निर्वाचनमा उम्मेद्वारी दिन पाउनुपर्ने माग सहित परेका संशोधनका कारण विधेयक लामो समय समितिमा अडकिएको थियो । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्त रुपमा संशोधन हालेका थिए ।
उनीहरुले अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले पनि उम्मेदवार बन्न पाउनुपर्ने माग राखेका थिए । विधेयकको दफा १३ को घ, ङ, च र छ मा विभिन्न फौजदारी कसुरमा सजाय पाएका व्यक्ति कसुर हेरेर सीमित समय वा आजीवन उम्मेदवार बन्न नसक्ने वयवस्था उल्लेख छ । विधेयकमा भएका अन्य सबै प्रावधानमा सहमति भइसकेपनि भ्रष्टचारीलाई पनि उम्मेदवार बनाउने विषयमा सहमति नहुँदा विधेयक समिति मै अड्किएको थियो ।
संसदबाट पारित राजनीतिक दलसम्बन्धी कानुनमा भने भ्रष्टाचार सहितका नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति दलको सदस्य बन्न समेत अयोग्य हुने व्यवस्था छ । संसदमा सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि प्रदेश र प्रतिनिधि सभा सदस्य सम्वन्धी विधेयक गत साउन १५ गते राज्य व्यवस्था समितिमा आएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »