
मंगलबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने भोलि बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बस्ने महिलाले ओठगन ( ओठमा खानेकुरा लगाउने) गर्नुपर्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको भएको पण्डित कालिकान्त झा बताए ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने यो पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले दिवंगत पितृलाई पिण्ड चढाउछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल भएको मानिने भएकाले खड जितिया पनि भनिन्छ । एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।
