महोत्तरीमा भूत मेलाको तयारी पूरा

प्रकाशित समय 7:09:00 PM
महोत्तरी, १० असोज । महोत्तरीको औरही–७ स्थित सोनामाई मन्दिरमा लाग्ने भूत मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । औरही नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ ।
हरेक वर्ष वडादशैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष बुधबारबाट सुरु हुँदै छ । वडा दशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ ।वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै परदै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ–आफ्ना घर र्फकने गरेको पुजारी झगरु झाको भनाइ छ । सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीय वीरेन्द्र यादवले बताए । घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी (पीडित)हरु आआफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामूक्त भई हाँस्दै जाने झाँक्रीहरु बताउँछन् ।
सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »