सुनसरी, ९ असोज । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी बजारमा रहेको शंकर पौडेलको घरमा जुवा खेलाउँदै गरेको अवस्थामा सोमबार विहान ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इनरुवा नगरपालिका १ का वर्ष ४० का चन्द्र पोखरेल, ४१ वर्षीय बद्री स्वर्णाकार, ५१ वर्षीय विनोद अटल, ३४ वर्षीय शम्भुकुमार साह, इनरुवा ५ का ३८ वर्षीय महेन्द्र यादव र भोक्राहा गाउँपालिका ४ का कुन्दन कौशिक साह रहेको प्रहरीले जनाएको छ । पौडेलको घरको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जुवाको खालबाट नेपाली र भारतीय नोटहरु गरी जम्मा नेपाली ४ लाख २२ हजार एक सय पैतिस रकम र भारतीय रुपैयाँ ९२ हजार तिन सय ८० र तास बरामद गरिएको एपी माझीले जानकारी दिए ।