पैसावालाले टिकट पाए, इमान्दार व्यक्तिले कसरी निर्वाचन लड्न सक्छन : पूर्वराष्ट्रपति यादव

प्रकाशित समय 7:04:00 PM
काठमाडौं, ६ असोज । पूर्वराष्ट्रपति डा रामवरण यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरे, ‘मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि रु ५० लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन रु एक करोडसम्म खर्च भयो, यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लड्न सक्छन् ।”
सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले उक्त धारणा राखेका हुन् । उनले स्थानीय निकाय र प्रदेशरप्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने मैले विश्वास लिएको छु ।’
लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ’ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो, संविधानले पनि यही परिकल्पना गरेको छ, यसलाई आत्मसात् गर्दै अगाडि बढ्न म आह्वान गर्छु ।’
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधान निर्माण गर्न दलहरु एकजुट भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन आवश्यक रहेकोमा जोड दिँदै निर्वाचन घोषणापछि सरकारले मन्त्रिपरिषद् विस्तार गरेर संविधान तथा निर्वाचन आचारसंहिता उल्लंन गरेको आरोप लगाए ।
फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस महामन्त्री शशांक कोइरालाले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन गरेको र लोकतन्त्रलाई संस्थागत विकाससमेत गरेको बताए । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा गत वर्ष सो फाउण्डेशनको स्थापना भएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »