दुई महिनामा वीरगञ्ज नाकाबाट आठ अर्बका गाडी नेपाल भित्रिए

प्रकाशित समय 6:50:00 PM
पर्सा, ९ असोज । गएको साउन र भदौ महिनामा भारतबाट वीरगञ्ज भन्सार कार्यालय हुँदै आठ अर्ब रुपैयाँ मूल्यका भारतीय गाडी र मोटरसाइकल नेपाल ल्याइएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुुसार गएको साउन र भदौमा भारतबाट तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार रुपैयाँ मूल्यका दुई हजार २ सय ८५ वटा जीप, कार र भ्यान तथा दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार रुपैयाँ मूल्यको ३५ हजार ८ सय १४ वटा मोटरसाइकल, ४८ करोड ८७ लाख ४४ हजार रुपैयाँ बराबरको ६ सय ३४ वटा बस तथा  ट्रकको चेसिस नेपाल भित्रिएको छ ।
यस्तै  २७ करोड २५ लाख रुपैयाँको २ सय १८ वटा डबल क्याप पिकअप, २५ करोड ४६ लाख ४१ हजार रुपैयाँको २ सय ८३ वटा मिनी ट्रक, २० करोड १६ लाख रुपैयाँ बराबरको २ सय ८७ वटा सिंगल क्याप पिकअप, १२ करोड ७७ लाख ८६ हजार रुपैयाँका ६३ वटा मिनी बस, दुई करोड सात लाख तीन हजार रुपैयाँका ३० वटा बस, २१ लाख रुपैयाँ बराबरको एउटा माइक्रो बस नेपाल ल्याइएको छ ।
अघिल्लो वर्षको साउन तथा भदौ महिनामा ६ अर्ब ५० लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका गाडी नेपाल आयात गरिएको थियो । गएको साउन र भदौमा वीरगञ्ज भन्सार कार्यालयबाट संकलन भएकोमध्ये ३० प्रतिशत राजश्व भारतबाट ल्याइएका गाडी र मोटरसाइकलबाट उठेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । दसैँ, तिहार तथा छठको अवसर पारेर बिक्रेताले विभिन्न उपहारको स्कीम ल्याउने भएकाले बिक्री बढ्दा वीरगञ्ज नाकाबाट दुई महिनाभित्रै यति धेरै परिणाममा सवारीसाधन नेपाल ल्याइएको छ ।
अन्तःशुल्क, भन्सार र भ्याटसमेत विभिन्न प्रकारका गाडीमा २ सय २६ प्रतिशत कर लाग्ने भए पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सवारीसाधन वीरगञ्ज नाकाबाट ल्याइएको हो । गएको आर्थिक वर्षको तुलनामा यस वर्ष गाडी तथा मोटरसाइकलको आयात बढ्ने अनुमान गरिएको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »