राजविराजबाहेक १३५ वटै स्थानीय तहको मतगणना जारी

प्रकाशित समय 7:54:00 PM
काठमाडौँ, ३ असोज । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुनेछ ।
राजविराज १५ मा उम्मेदवारी दर्ता
राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराएको छ । यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट शनिबार मण्डलले मनोनयन दर्ता गराएको हो । सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »