म्यादी प्रहरीको जागिरका लागि हजारौ युवायुवती लाईनमा

प्रकाशित समय 9:55:00 AM
राम नारायण पंडित
मिर्चैया , २९ असोज । सिरहामा म्यादी प्रहरीमा आवेदन दिन आउने युवायुवतीहरुको भिड बढ्दै गइरहेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय सिरहा परिसरमा म्यादी प्रहरीको आबेदन दिने कार्य भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन भेट्वालले बताए ।
जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, गोलबजार र मिर्चैयाबाट म्यादी प्रहरी भर्नाको लागि आबेदन फारम वितरण भईरहेको भएपनि दर्ता जिल्ला प्रहरी कार्यालय सिरहामा नै भईरहेको डिएसपी भेटबालले जनाएको छ ।
आवेदन दिनका लागि गाउँ–गाउँबाट ठुलो संख्यामा आएका युवायुवतीहरु चर्को घाम र गर्मीको प्रवाह नगरी दिनभरि लाइनमा बसेरै भए पनि आवेदन दर्ता गराईरहेका छन् । जिल्लाको विभिन्न ईलाका र ग्रामीण क्षेत्रमा प्रहरीको ईकाई भएपनि म्यादी प्रहरी भर्नाको लागि जिल्ला प्रहरी कार्यालयमै आउने प्रावधान रहेकोले कठिनाई भईरहेको आवेदकहरुको गुनासो रहेको छ ।
देशमा बढ्दै गएको बेरोजगारीका कारण छोटो समयको लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिन आउने आबेदकहरुको संख्यामा बृद्धि भएको छ । मंसिर १० र २१ गते हुन लागिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले देशभरीबाट ९८ हजार भन्दा बढी म्यादी प्रहरी माँग गरेको छ ।
असोज २८ गतेसम्म सिरहामा ६ हजार ८ सय ४४ आबेदन दर्ता भएका छन् । जसमा ६ हजार २ सय ७३ पुरुष र ५ सय ७१ महिलाको आबेदन परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी भेटवालले जनाएको छ । असोज ३० गते ५ बजेसम्म आवेदन दर्ता गरिने डिएसपी भेटवालले बताए ।
त्यस्तै जनकपुरस्थित निधि स्मृति भवनमा युवाहरु खचाखच भरिएको छ । बिहान ७ बजेदेखि नै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि आवेदन दिन जम्मा भएको दृश्यले बेरोजगारको उजागर गरेको छ । असोज २७ र २८ गते दुई दिनमा १० हजार ५ सय जनाले म्यादी प्रहरीका लागि आवेदन दर्ता गराएका छन् । आइतबार आवेदन दर्ता जारी छ ।
स्थानीय निकायको चुनाव गराउन यहाँ म्यादी प्रहरी भर्ना भए । तर, चुनाव तोकिएको मितिमा नहुँदा जिम्मावारी पूरा नै नगरी तलब थापेकाहरुलाई म्यादी मोह गएको छैन । क्याम्पस पढ्ने युवाहरु म्यादीको अग्रपंतिमा देखिएका छन् । आवेदन दिनेहरुको भीड नियन्त्रण गर्न यहाँ लाठीजार्च समेत गर्नु परेको छ । आवेदन फारम भर्नहरुका कारण जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा भीडभाड लागेको छ ।  दिनभरी लाम लागेर आवेदन बुझाएका हरुलाई म्यादी प्रहरी प्रवेश पत्र बुझाउन समेत एक दिन घाममा कुर्नु परेको छ । भीड बढेपछि सांस्कृतिक कार्यक्रम गरे जस्तै दर्शकदीर्घामा आवेदकलाई बसाएर पालैपालो नाम बोलाएर प्रवेश पत्र वितरण गरिँदै छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »