
दुई दलबीच मुख्यतया संविधानलाई थप लोकतान्त्रिक र सर्वस्वीकार्य बनाउन दुवै दलले पहल गर्ने, आउँदा निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउन तथा थरुहट र मधेश आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइका लागि पहल गर्ने सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
दुई दलबीच एकताको घोषणा भएपनि पदको बाँडफाँड भने नभएको नेताहरुले बताएका छन् । गच्छदार झण्डै १० वर्षअघि नेपाली कांग्रेस परित्याग गरी फोरम नेपाल पार्टीमा गएको थियो । पछि उनले फोरम लोकतान्त्रिक नामको पार्टी खोलेको थियो । केही साना दलसँग एकता गर्दै पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम बनाइएको हो ।
एकता प्रक्रियामा संलग्न नेताहरुका अनुसार लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्री मनोनयन गर्ने तयारी छ । त्यसैगरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ लोकतान्त्रिक फोरमका कम्तीमा २ जना र समानुपातिकमा ५ जनाको नाम समावेश गर्ने समझदारी भएको छ ।
