स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्की मतदाता १७० जना रहेका छन् । आयोगको निर्णय अनुसार, डोल्पा जिल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणबश यकीन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण माग गरी प्राप्त भएपछि यकीन गरी मतदाता नामावलीमा समावेश गरिने छ ।
सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको छ ।
स्वीकृत मतदाता नामावली अनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेका छन् ।
