एमाले–माओवादी संयुक्त घोषणापत्रमा पहिचानको मुद्दा हटेपछि असन्तुष्टी बढयो

प्रकाशित समय 7:19:00 PM
काठमाडौ, १७ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तयार गरेको संयुक्त चुनावी घोषणापत्रमा पहिचानको मुद्दा नरहेपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टी बढेको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा पहिचानको मुद्दा नसमेटिएपछि नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले आफनो असन्तुष्टी सार्वजनिक गरेका छन् । पहिचानको मुद्दा नसमेटिएको अवस्थामा एमालेसँग हुने एकता र सहकार्य आफूलाई स्वीकार्य नहुने यादवले बताए ।
‘‘मधेशी, थारू र आदिवासी जनजाति जनताको राष्ट्रिय पहिचान, समानताको अधिकार,सम्मान एवं समृद्धिको विरूद्ध हुने कुनै कार्य राष्ट्रिय एकता विरोधी कार्य हुने भएकोले एमाले उत्पीडित समुदायहरूको पहिचान र समानताको अधिकार विरोधी भएकोले उपरोक्त कुरामा एमाले सच्चिन तयार भएन भने एमालेसँगको सहकार्य तथा एकता स्वीकार्य हुन सक्दैन’ यादवले आफनो फेसबुक पेजमा लेखेका छन् ।
संयुक्त घोषणापत्र तयार गरेपछि यादवलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता रामबहादुर थापा बादलले संयुक्त पत्रकार सम्मेलनमा सहभागी भइदिन आग्रह गरेका थिए । तर यादवले आफू पत्रकार सम्मेलनमा नआउने जानकारी प्रचण्ड र बादललाई गराएका छन् ।
यादव र सहरी विकास मन्त्री प्रभु साहले मंगलबार बिहान लाजिम्पाट पुगेर एमालेसँगको एकता घातक हुन सक्ने तर्फ सचेत गराएका थिए । दुवै नेताले चुनाव चिन्ह आफनै कायम राख्न र पहिचानको मुद्दा नछोडन प्रचण्डलाई दबाब दिएका थिए । एमालेसँगको समझदारीमा चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा कायम राख्ने समझदारी गरेपनि प्रचण्डले पहिचानको मुद्दा छोडेको यादवले आफना सहकर्मी नेताहरुलाई बताएका छन् । अर्का नेता गोपाल किराँतीले एमालेसँग पार्टी एकताको प्रस्तावलाई पार्टी एकता नभएर एमालेकरण रहेको बताएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »