प्रधानमन्त्रीलाई कानुन व्यवसायीको सुझाव, ‘सरकारको निरन्तरतामा समस्या छैन’

प्रकाशित समय 6:52:00 PM
काठमाडौं, १८ असोज । सत्ता साझेदार दल माओवादी केन्द्रले विपक्षीसँग अचानक चुनावी तालमेल र पार्टी एकीकरणसम्मको घोषणा गरेपछि सरकारको निरन्तरतामा आउन सक्ने कानुनी अडचन एवं अन्य जटिलताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार कानुनी परामर्श लिएका छन् ।
प्रधानमन्त्रीले आफ्नो सरकारी निवास बालुवाटारमा अपराह्न नेपाल बारका अध्यक्ष शेरबहादुर केसी, महान्यायाधिवक्ता वसन्तराम भण्डारी, पूर्वमहान्यायाधिवक्ताहरू महादेव यादव, बद्रीबहादुर कार्की, बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का तथा कानुन व्यवसायी राधेश्याम अधिकारी, यदुनाथ खनाललगायतसँग विकसित घटनाक्रमका कानुनी पक्षबारे रायसल्लाह लिए ।
‘‘सत्ता साझेदार माओवादीले सरकार गिराउने कुनै काम नगरेकाले तालमेलकै कारण कुनै संकट सत्तापक्षलाई नआएको हुँदा कानुनी अड्चन देखिएन’, बारका अध्यक्ष केसीले प्रधानमन्त्रीसँग कानुन व्यवसायीले दिएको सुझावबारे भने, ‘‘त्यसो हुँदा तत्काललाई कुनै कदम चालिरहन नपर्ने देखियो, चुनावी तालमेल जसले जोसँग पनि गर्न सक्ने हुँदा सरकारको निरन्तरतामा यसले कुनै फरक पार्दैन ।’
संविधानअनुसार कात्तिक ४ गते संसद् स्वतः विघटन हुने हुँदा सरकार फेर्न वा अविश्वासको प्रस्ताव ल्याउन समय र अवस्था पनि नभएकोबारे पनि छलफलमा कुरा उठेको थियो । ‘‘अविश्वासको प्रस्ताव आएछ नै भने पनि त्यसमाथि संसदीय कारबाही पूरा हुनुअघि नै संसद् विघटन हुन्छ’, केसीले भने, ‘‘यसले अस्थिरता र चुनाव पनि भाँड्छ । त्यसो हुँदा अहिले कसैले कुनै कदम नचालेको स्थितिमा कुनै कानुनी समस्या सरकारका अघिल्तिर छैन ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »