कपडा व्यपारीलाई असईले कुटेपछि..

प्रकाशित समय 7:12:00 PM
किशोर बुढाथोकी
विराटनगर, ८ कार्तिक । मोरङको कर्सियास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुवाष केसीले बुधबार कपडा पसल संचालकमाथि कुटपिट गरेका छन् ।
रंगेली नगरपालिकाका २० वर्षीय मोहम्मद सरताजमाथि केसीले कुटपिट गरेका हुन् । केसी नेत्रृत्वको ट्राफिक टोलीले भलुवा पुलमा चेकजाँच गरिरहेको थियो। को १ प ५९५६ नम्बरको मोटरसाइकलको पछाडि कपडा लिएर कर्सिया बजारतिर आउँदै गर्दा सरताजको मोटरसाइकल रोकेर ट्राफिकले चेकजाँच ग¥यो । स्थानीय विनोद मण्डलका अनुसार सवारी चालक अनुमति पत्र नभएको भन्दै असई केसीले सरताजमाथि कुटपित गर्न थाले ।
कपडा लिएर कर्सिया बजार आइपुगेपछि भने पछ्याएर आएका असई केसीले एक्कासी कुटपिट गरेको मण्डलले बताए । उनका अनुसार कर्सियामा लाग्ने साप्ताहिक हटियामा कपडाको पसल फिजाउँदै गर्दा त्यहीं पुगेर सरताजमाथि मुक्का प्रहार भएको हो । ‘चालकसंग कागजपत्र नहुँदा सवारी साधन नियन्त्रणमा लिने अधिकार ट्राफिकलाई छ,’ उनले भने, ‘तर कागजपत्र नभएको विषयलाई लिएर कुटपिट गर्न पाइँदैन  ।’ कुटपिटको विरोधमा स्थानीय बासिन्दाले बुधबार प्रहरी चौकी कर्सियामा घेराउ समेत गरेका छन् ।
असई केसीले भने आफूले कुटपिट नगरेको बताए । ‘चेकजाँचका क्रममा कागजपत्र नभएका कारण मोटरसाइकल नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘त्यस क्रममा केही भनाभन भयो तर, कुटपिट गरेको छैन ।’ असईले कागजपत्र बिना मोटरसाइकल चलाएको कसुरमा जरिवाना गरेर मोटरसाइकल छाडिदिएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक मदन गिरीले घटनाका सम्बन्धमा छानबिन गरेर दोषीमाथि कारवाही अघि बढाइने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »