८३ वर्षकी रुक्मिणी भन्छिन, ‘कि छोरासँग भेट गराइदेऊ, कि रासन देऊ, होइन भने विष देऊ’

प्रकाशित समय 7:02:00 PM
चिरञ्जिबी घिमिरे  
झापा, १८ असोज । तेस्रो मुलुक पुनर्वासले झापा र मोरङमा रहेका शरणार्थी शिविरमा ठूलो पारिवारिक विचलन ल्याएको छ । धेरैको परिवार छुटेको छ । दैनिक रोएर बस्न बाध्य छन् उनीहरू । यस्तो समस्या धेरैजसो शिविरमा रहेका वृद्धवृद्धामा देखिएको छ । कतिपय वृद्धवृद्धाहरू तेस्रो मुलुक पुनर्वास भएर नजाने र आफ्नै देशमा फर्कने भनेर यहीँ बस्दै आएका छन्

युवा पुस्ताहरू आफ्नो भविष्य खोज्दै तेस्रो मुलुक गएका छन् । शिविरमा धेरैजसोका परिवारमा छोराछोरीले बाबुआमा छाडेर तेस्रो मुलुक गएका छन् । कतिले त श्रीमानसमेत छाडेर गएका पनि छन् । अझ पारिवारिक विचलन त दर्ताविहीन शरणार्थीमा देखिएको छ । दर्ता भइरहेको समयमा पढाइका लागि बाहिर गएका या कुनै कामले बाहिर गएकाहरूको परिवारमा ठूलो बिछोड छ । परिवारका सबै सदस्य तेस्रो मुलुक पुनर्वास भए पनि त्यो परिवारको एक जनाले त्यस समयमा फोटो खिचाउन नपाएकाले नै एक्लिनुपरेको अवस्था छ ।
यस्तै समस्यामा बाँचेकी छन् बेल्डाँगी शिविर जी १ छाप्रो नम्बर ७२७३ की ८३ वर्षकी रुक्मिणी न्यौपाने । भुटान हुँदै श्रीमानले कान्छी श्रीमती ल्याएर उनलाई छाडे । उनको साथमा एक छोरी र एक छोरा थिए । भुटानी शासकहरूले उनीहरूलाई भुटानबाट लखेटे । छोरी विवाह गरिसकेकी हुनाले उनीसँग आइनन् । रुक्मिणी छोरा होमनाथको साथमा नेपाल आइन् । शरणार्थी शिविर गोलधापमा करिब १४ वर्ष बसिन् । त्यस क्रममा छोरा होमनाथ पढ्न भनेर हरिद्वार गएका थिए । छोरा लामो समयसम्म फर्केर नआउँदा उनलाई एक्लै बस्दा बिरक्त लागेको थियो । उनी छोरा खोज्न भनेर हरिद्वार गइन् । तर उनले छोरा भेटिनन् ।
‘१० वर्ष हरिद्वार बस्दा मैले धेरै दुस्ख झेलेँ तर त्योभन्दा बढी दुख त अहिले झेल्दै छु । छोरा नभेटेपछि म त्यतैतिर मन्दिरमा माग्दै बसेँ’, उनी सम्झन्छिन, ’एक दिन हरिद्वारमा नुहाउन लागिरहेकी थिएँ, यतैबाट गएको एकजना मान्छेले तेरो सबै परिवार अमेरिका गए भने । श्रीमान, सौता र मेरो एक मात्र छोरा अमेरिका गएको खबरले म बेहोस भएछु । उनले नै मलाई यहाँसम्म ल्याए ।’ आउँदा छोरा पनि अमेरिका गइसकेको थाहा पाएको उनले बताइन् । आफूले रासन नपाउने थाहा पाएपछि अर्को पीडा थपियो उनलाई । ‘क्याम्प सचिवलाई पनि भनेरै गएकी थिएँ, तर मेरो दर्ता हटाइएछ, मैले पहिला रासन पनि खाएको हो’, रासन कार्ड देखाउँदै उनी भन्छिन, ‘तर अहिले रासन पनि दिन छाडे। न छोरालाई भेट्न पाएकी छु, न छोरीको हाल खबर नै बुझ्न पाएकी छु ।’ अर्काले छाडेको छाप्रोमा बस्दै आएकी उनलाई नाति (जेठाजुका नाति) छविलाल मिश्रले रेखदेख गर्दै आएका छन् ।
उनको पनि अवस्था उस्तै छ । उनी पनि दर्ताविहीन शरणार्थी हुन् । अझ उनी त श्रीमतीले कमाएको खानुपर्ने अवस्थाका छन् । काम गर्न भनेर भारत जाँदा दुर्घटनामा परेर घाइते भएका छन् उनी पनि । उनका सबै परिवार अमेरिका पुगेका छन् । उनी दुई छोरी र श्रीमतीका साथ यहाँ बस्दै आएका छन् । श्रीमतीले गाउँबाट दूध संकलन गरेर बेचेका भरमा उनको परिवार चल्दै आएको छ । रुँदै रुक्मिणी भन्छिन, ‘जसोतसो यही नातिले हेरेको छ, उसको पनि बिजोग छ । ऊ पनि खुनी छ, आज के खाने भोलि के खाने अवस्थामा छ ऊ पनि ।’ उनलाई यस पटक दशैँ मनाउन पनि समस्या भएको छ। बुढेसकालमा काम गर्न नसक्ने भएपछि उनलाई अझ धेरै समस्या भएको बताइन् ।
उनले भनिन, ‘काम गर्न पनि सक्दिनँ, रासन पनि दिँदैनन, पैसा भएको भए पो दशैँ मनाउनु ।’ उनी आफूलाई छोराले समेत वास्ता नगरेको भन्दै भक्कानिइन् । ‘छोराले कहिल्यै फोन पनि गर्दैन, यतैबाट गर्छु, आफ्नो फोन भए पो सधैँ गर्नु । फोन गरे पनि पैसा पठाइदिँदैन । पहिला २÷३ हजार पठाइदियो, त्यति नै हो’, उनले भनिन् । उनले अब आफू जीवनको अन्तिम समयमा आएर एक्लै बस्नुपर्ने भएको बताइन् । ‘कि छोरासँग भेट्टाइदेऊ, कि रासन देऊ, होइन भने म बाँच्न सक्दिनँ अब विष देऊ’, सरोकारवालाहरूसँग उनको माग छ, ’म यसरी बुढेसकालमा अभावै अभावको जिन्दगी बिताउन सक्दिनँ ।’थाहाखबरबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »