समानुपातिक सूचीमा पार्टीभित्रको मर्यादाक्रमअनुसार सच्याउन मागसहित महासचिव केशव झा, पेशल ढकाललगायत एक दर्जनको संख्यामा नेताहरु राजपा केन्द्रीय कार्यालय बबरमहलमा धर्नामा बसेका हुन् । महासचिव झाले पार्टी नेतृत्वले मनोमानी ढंगले समानुपातिक सूची तयार पारेकोले संशोधन नगरेसम्म धर्ना जारी राखिने बताए । उनले तिहारको भाइटीकाको दिनसम्म धर्ना दिँदा माग सम्बोधन नभए त्यसपछि रिले अनशन सुरु गरिने चेतावनी दिए ।
धर्नामा केन्द्रीय सदस्य बीपी यादव, दीपक झा, दीपेन्द्र अग्रवाल तथा विद्यार्थी र युवा संगठनका पदाधिकारीहरु सहभागी छन् । मध्यान्ह १२ बजे सुरु धर्ना दुई घण्टासम्म जारी रहने महासचिव झाले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए ।
