बदलिंदो तिहार

प्रकाशित समय 7:25:00 PM
आधुनिकीकरण र विश्वव्यापीकरणबाट तिहार प्रभावित भएको छ । तिहार यही समाजको एउटा गतिविधि हो । समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि बदलिंदै जानु स्वाभाविक हो ।
प्रा.डा. तुल्सीराम पाण्डे
परिवर्तित परिवेशसँगै समाजसँग जोडिएका हरेक गतिविधि बदलिंदै जान्छन् । तिहार यही समाजको एउटा गतिविधि हो । यो गतिविधिमा पनि समयको परिवर्तन देखिएको छ । तिहारको सार भने बदलिएको छैन । हिजो जसरी र जुन महत्व दिएर तिहार मनाइन्थ्यो, त्यसले निरन्तरता पाएको छ । बदलिएको त तिहार मनाउने सामग्री मात्रै हो । यस हिसाबले सबै चाडबाड बदलिएका छन् । यो भनेको हाम्रो सामाजिक स्वरुप वा संरचना सञ्चालन प्रक्रिया नै बदलिएको हो । हिजो विकास थिएन । यातायात, सञ्चार थिएन । मानिसहरू एउटै समाजमा सीमित थिए । घुमघाममा निस्कने चलन नै थिएन । तिहार समाजभित्र सीमित थियो । आज यातायात, सञ्चारलगायतको विकास, आधुनिकीकरण र विश्वव्यापीकरणले तिहारलाई स्वाभाविक प्रभाव पारेको छ । आधुनिकीकरणको एउटा पाटो हो बदलिंदो तिहार ।
आधुनिकीकरणका कारण हामी विश्वसामु पुग्यौं, विश्व हामीसामु आयो । विश्वव्यापीकरणसँगै विदेशी अर्थतन्त्र नेपालमा प्रवेश ग¥यो । उत्पादनभन्दा व्यापार बढेका कारण नेपाल कमोडिटी मार्केटको रुपमा विकसित भयो । शहरी इलाकामा पसेको विश्वबजार नेपालका गाउँघरसम्म पुगेको छ । शहरको देखासिकी गाउँहरूले गर्छन् । नेपालीको हातमा नगद भएकोले खर्च गर्ने प्रवृत्ति पनि बढेको छ । विश्वबजारमा चलेका सामग्रीहरूको उपलब्धता, आकर्षणलगायतका कारणले नेपाली समाजलाई लालायित बनाएको छ । यसको स्वाभाविक प्रभाव हामीले दशैं–तिहारलगायतका चाडबाडमा प्रयोग गर्ने सामग्रीहरूमा परेको छ । विश्वव्यापीकरण प्रक्रियामा शक्तिशाली सावित भएको समाजको संस्कृतिको प्रभाव संसारभरका समाजमा पर्दै गएको छ । नयाँ तौरतरीका र पद्धति आकर्षक भए, त्यसको प्रभाव सबैमा पर्रुयो । माटोको पालामा तेल राखेर बालिने बत्तीलाई इलेक्ट्रिक बत्तीले विस्थापित गर्दै लग्यो ।
दिदीबहिनीहरुले आफ्नै हातले बनाएका ओखर, कटुस, तिल मिसाएको मसलालाई बजारमा पाइने तयार ‘भाइ मसला’ र मिठाइले विस्थापित ग¥यो । बदलिंदो तिहारमा परम्परागत लोक प्रविधि हरायो । अर्काेतिर सञ्चार र प्रविधिले तिहारलाई झन् फैलाएको छ । यसको धार्मिक–सांस्कृतिक महत्वमा ह्रास आएको छैन । तेलको मधुरो बत्तीको ठाउँ बिजुलीको उज्यालोले लिएको छ । सम्बन्धसँग जोडिएको तिहारको मान्यता र मनाउने शैली पनि बदलिएको छैन । दिदीबहिनी आउने, दाइ–भाइलाई टीका लगाउने, दाइभाइले दान–दक्षिणा दिने चलन उही छ । खानपान बदलिएको छ । पहिले सेलरोटी खाने भनेको दशैं र तिहारमा मात्रै थियो । हुनेखानेले चैते दशैं र माघे संक्रान्तिमा पनि पकाउँथे । खीर, ढकनी, केरा, ओखर, सेलरोटी, फिनी, अनरसा आदि तिहारमा प्रयोग हुन्थे । अहिले बजारले खानपानलाई विस्तार गरिदिएको छ ।
पुराना परिकार घटेका छैनन, नयाँ थपिएका छन् । हिजोको दिनमा नयाँ लुगा किन्ने र लगाउने भनेको पनि दशैं–तिहारमा मात्रै हुन्थ्यो । मानिससँग नगद नै थिएन । अब त वर्षमा एकचोटि दशैं–तिहारमा मात्र नयाँ लुगा किन्ने कुरा सुन्दै अनौठो लाग्ने भइसक्यो । लक्ष्मी पूजाको दिन सुनचाँदी किनेर राखे वर्षभरि आम्दानी बढ्छ भन्ने परम्परागत विश्वास पनि कायमै छ । अहिले त सुनचाँदी किनेर देखाउने चलन पनि आएको छ ।
समाजमा देखाउनकै लागि सुन लगाउनेहरूको कमी छैन । गहना लगाउने चलन भारतीय नवाब खान्दानबाट भित्रिएको हो । सम्भ्रान्तहरूले विकसित गरेको देखासिकीको चलन विस्तारै सबैतिर फैलँदै गएको छ । यसले सामान्य वर्गमाथि मानसिक दबाब परेको छ । कतिपय मानिसहरू तिहारमा हुने रमाइलो घट्यो भन्छन् । तर, यो घटेको नभई विस्तार भएको छ । किनभने, आजकल रमाइलोको लागि तिहार नै कुर्नुपर्दैन । अर्को पक्ष के छ भने, ‘नेपालीहरूले तिहारलाई संसारभर पु¥याएका छन् ।’
विदेशमा तिहार मनाउने, भैलो–देउसी खेल्ने चलन बढेकै छ । विदेशमा तिहार लक्षित कार्यक्रमहरू हुन थालेका छन् । यसबाट पनि तिहारको गरिमा र महत्व बढेको छ । नेपालमा सीमित तिहारको अन्तर्राष्ट्रियकरण भएको छ । तिहारको मूल्य–मान्यता फेरियो, धर्म–संस्कृति बिग्रियो भन्नै पर्दैन । समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि पनि बदलिंदै जानु स्वाभाविक हो । हिमालखबरबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »