टिकापुर घटनामा संलग्न भएको आरोपमा जेलमा रहेका लक्ष्मण थारुसहित तीन जना जेलबाटै राजपामा प्रवेश

प्रकाशित समय 7:23:00 PM
नवराज पनेरु
कैलाली, २ कार्तिक । कैलालीको टिकापुर घटनामा दोषी रहेको आरोपमा जेल जीवन बिताइरहेका थारु नेता लक्ष्मण थारुसहित तीनजना राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।
केही दिनअघि कांग्रेसमा प्रवेश गरेका विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य समेत रहनुभएका थारु जेलबाटै राजपामा प्रवेश गरेको हो । बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारुसहित वीरबहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएको हो ।
जेलबाटै राजपामा प्रवेश गर्नुभएका चौधरीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा पनि गर्नुभएको छ । माओवादीका पूर्वलडाकु समेत रहेका लक्ष्मण थारुले माओवादी पार्टी र लोकतान्त्रिक फोरमले समेत धोका दिएपछि नागरिकलाई न्याय दिन राजपामा प्रवेश गरेको बताए ।
आफू माओवादी पार्टीमा रहँदा कैलालीका ६ क्षेत्र जितेको र त्यसपछि कुनै जनाधार नरहेको फोरम लोकतान्त्रिकलाई समेत कैलालीमा दुई क्षेत्र जिताएको दाबी गर्ने नेता थारुले दुवै पार्टीले अहिले थारु समुदायलाई धोका दिएको आरोप लगाए ।
तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले टिकापुर घटना राजनीतिक भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भने पनि अन्तिममा धोका दिएकाले राजपा प्रवेश गरेको उनीहरुको भनाई छ ।
२०७२ साल भदौ ८ गते थारु आन्दोलनको क्रममा भएको घटनामा टिकापुरमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »