चरित्रमुखी शिक्षाको खाँचो

प्रकाशित समय 9:58:00 AM
माधव रेग्मी
केही समयअघि राजधानीको एउटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम तर्जुमाको आवश्यकता पहिचानसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पाएको थिएँ । सो क्रममा छलफल भएको विषयले पंक्तिकारलाई उद्वेलित बनायो । उक्त कार्यक्रममा विद्यालयबाट आफ्ना बालबालिकाले कस्तो शिक्षा प्राप्त गरून् वा विद्यालय शिक्षाको समाप्तिपछि बालबालिका कस्तो होऊन् भन्ने अपेक्षा छ भनेर अभिभावकलाई सोधिएको थियो । कार्यशालामा सहभागी प्रायः सबै अभिभावकले आफ्नो बालबालिकाले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षा सन्तुलित रूपमा प्राप्त गरून, सामाजिक र सांस्कृतिक विषयसम्बन्धी ज्ञान प्राप्त गरून् साथै विशेष गरी नैतिकवान् र चरित्रवान् बन्न सकून् भन्ने धारणा राखेका थिए । वास्तवमा आम अभिभावकले विद्यालय शिक्षाको समाप्तिपछि आफ्ना बालबालिकाले विद्यालयबाट प्राप्त गर्ने शिक्षा यस्तै होस् वा आफ्ना नानी–बाबु यस्तै सकारात्मक र चरित्रवान् होऊन् भन्ने चाहना राखेका हुन्छन् । तर अपसोच ! अहिलेको शिक्षा आम अभिभावकले चाहेजस्तो चरित्रमुखी छैन । विद्यालय शिक्षा मानवीय मूल्य–मान्यता र आदर्शबाट विमुख हुँदै गइरहेको छ । हिजोआज विद्यालयमा बालबालिकालाई व्यवहारिकभन्दा पनि सैद्धान्तिक ज्ञान थोपरिएको हुन्छ । बालबालिकालाई एकआपसमा प्रतिस्पर्धा गरी सबैभन्दा अब्बल हुन सिकाइएको हुन्छ । उनीहरूलाई जसरी हुन्छ सफल मान्छे बन्न प्रेरित गरिन्छ । जहाँ व्यक्तिको सफलतालाई भौतिक पक्ष र आर्थिक सम्पन्नतासँग दाँजेर परिभाषित गरिन्छ ।
सबैभन्दा मुख्य रूपमा उनीहरूलाई ठूलो र प्रख्यात व्यक्ति बन्न सुझाइन्छ न कि असल र इमान्दार । विद्यालय शिक्षामा पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, परिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ भन्ने कुरामा ध्यान दिइँदैन । विद्यालय शिक्षाले बालबालिकालाई मानवीय सहयोग, सदाचार, मित्रता, सौहार्दता सम्बन्धी शिक्षा दिएको छैन । अहिलेको विद्यालय शिक्षाले विज्ञान, प्रविधि र व्यवसायिक जीवनका लागि आवश्यक सैद्धान्तिक ज्ञान दिन जोड दिएको छ । निःसन्देह अहिलेको परिवेश र समयअनुसार यस्ता विषयको पनि जानकारी हुनु जरूरी छ । तर विज्ञान–प्रविधिसम्बन्धी चेतनाको विकासले मात्र मानिसको जीवन पूर्ण र सार्थक बन्न सक्दैन ।
मानवीय मूल्य–मान्यता र संस्कारको ज्ञानबिनाको शिक्षा अपुरो, अव्यवहारिक र लगाम बिनाको घोडाजस्तै हुन्छ । जुन अहिले भइरहेको छ । उदाहरणका लागि हामीकहाँ अहिले समाजमा अपराध, हिंसा, भ्रष्टाचारजस्ता कुराहरू दिनानुदिन मौलाउँदै गएका छन् । समाजमा पहिलेभन्दा शिक्षित व्यक्तिहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।
तुलनात्मक रूपमा नियम कानूनको निर्माण बढी भएको छ अनि नियम कानूनको ज्ञान भएका मानिसको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । तथापि भ्रष्टाचार र अपराधजन्य गतिविधि बढ्दो छ । वास्तवमा भन्ने हो भने पढेलेखेका, शिक्षित अनि जान्ने बुझ्ने भनिएकाबाटै समाजमा अपराध बढी मात्रामा भइरहेको छ । यसो हुनुको मुख्य कारण नैतिक मूल्य–मान्यता र चरित्रमुखी शिक्षाको अभाव नै हो ।
पहिले विद्यालय शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ, विद्यालय शिक्षा प्राप्त गरेपछि मानिस कर्तव्यपरायण, नैतिकवान् र इमान्दार हुन्थे । तर अहिले शिक्षालाई कसरी परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यलाई जोड्ने भन्ने कुरामा कसैको ध्यान नै गएको पाइँदैन । यसको विपरीत विद्यालय शिक्षा व्यक्तिवाद केन्द्रीत छ । विद्यार्थीको चेतनाको स्तर वृद्धि गरी सृजनशीलताको विकास गर्ने भन्दा पनि सिद्धान्तमुखी र परीक्षामुखी शिक्षण विधि अपनाइने गरिएको छ ।
फलतः उनीहरूले कुनै पनि कुरा राम्रोसँग बुझेर मौलिक रूपमा परीक्षा दिने भन्दा पनि कण्ठ गरेकोे आधारमा परीक्षा दिने परिपाटी छ । यति मात्र हैन दिनभरी स्कुलमा पढेर थाकेका स–साना कलिला बालबालिकालाई घरमा गर्न भनेर थुप्रै गृहकार्य दिइएको हुन्छ । यसले गर्दा पर्याप्त मात्रामा आराम र मनोरञ्जन गर्न पाउने अधिकारबाट बञ्चित हुनुका साथै पढाइलाई रुचीपूर्ण विषयभन्दा पनि बोझको रूपमा लिने मानसिकताको विकास हुन जान्छ ।
कतिपय विद्यालयले साना बालबालिकालाई अनावश्यक कृत्रिमता वा बनावटीपन सिकाउने गर्दछन् । जसले गर्दा उनीहरूले प्राकृतिक सादापन र सरल स्वभाव नै गुमाउँदै जान्छन् । यस्ता विद्यालयले जे कुराको पनि विदेशी नक्कल गरी विदेशी संस्कार, संस्कृतिलाई महत्त्व दिने गरेको पाइन्छ । यसले गर्दा आफ्नै देशको भाषा, संस्कृति, सभ्यता, मौलिकताको ज्ञानबाट बालबालिका वञ्चित हुँदै गएको पाइन्छ ।
उदाहरणका लागि कतिपय विद्यालयले अतिरिक्त ज्ञान भन्दै चाइनिज, फ्रेन्च, जर्मनीजस्ता भाषा अनावश्यक रूपमा सिकाइएको पाइन्छ । अतिरिक्त ज्ञान र शिक्षाको लागि नै भए आफ्नै देशको राई, लिम्बू, नेवारी, मैथिलीजस्ता भाषा सिकाउन सकिन्थ्यो? किन हामी विदेशी संस्कृति, सभ्यता र भाषा मात्रै राम्रो र महत्वपूर्ण भन्ने सोचको विकास जबरजस्ती रूपमा गरिरहेका छौँ ? यसले बालबालिकाको मन मस्तिष्कमा सानैदेखि सबै विदेशीको राम्रो, उच्च स्तरको र हाम्रो चाहिँ सबै नराम्रो भन्ने भावनाको विकास गर्दछ ।
समग्रमा अहिलेको शिक्षा प्रणालीले विद्यार्थीलाई केही ज्ञान–बुद्धि त दिएको छ तर विवेक दिएको छैन । विवेक–असल र खराब छुट्याउन सक्ने सामथ्र्य हो । शिक्षा आर्जन गरेर मानिसले आर्थिक उन्नति त गरेका छन् तर मानसिक रूपमा मानिस झनै दुःखी, अशान्त, अधैर्य र रोगी भइरहेको छ । जबसम्म हामी विद्यालयलाई सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने थलोका रूपमा मात्र नभई मानवीय मूल्य–मान्यता र विवेक प्रदान गर्ने शिक्षण संस्थाको रूपमा विकास गर्न सक्दैनौ तबसम्म विद्यार्थीले जीवनोपयोगी शिक्षा हासिल गर्न सक्दैनन् ।
बालबालिकाको शिक्षा आर्जन गर्ने पहिलो स्थान वा विद्यालय भनेकै घर हो । तसर्थ घरमा नै बालबालिकालाई संस्कार, सभ्यता र व्यवहारिक शिक्षा दिइनुपर्छ । यसका लागि अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । भनिन्छ, केटाकेटी कुमालेको काँचो माटो सरह हुन, जसलाई जस्तो चाहियो त्यस्तै बनाउन सकिन्छ । तसर्थ आफ्ना बालबालिकालाई संस्कारयुक्त र चरित्रमुखी शिक्षा दिनु पहिलो कर्तव्य अभिभावकको हो ।
समाजमा मानवता, नैतिकता र इमान्दारिता त देखावटीपना, आडम्बरीपना जस्ता विकृतिहरूद्वारा प्रतिस्थापन भइरहेका छन् । आजका बालबालिकाहरू भविष्यका कर्णधार भएकाले बच्चैदेखि बालबालिकालाई ठूलोभन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौँ भने भविष्यमा उनीहरू असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिन्छ ।
हिजोआज प्रायः बालबालिका अभिभावकलाई अटेर गर्ने, ठूलालाई आदर नगर्ने, टेलिभिजन, मोबाइलजस्ता विद्युतीय सामग्रीको प्रयोग बढी गर्ने, सामाजिक नहुने, रिसाहा, घमण्डी हुने, एकाग्र हुन नसक्ने देखिएको छ । यसले गर्दा उनीहरूको मानसिक, बौद्धिक विकासमा नै नकारात्मक असर पुगिरहेको पाइन्छ । आखिर यस्तो किन भइरहेको छ त ? किनभने विद्यालय तथा घरपरिवारमा चरित्रमुखी शिक्षा र संस्कारको अभाव छ । टेलिभिजन, कम्प्युटर र इन्टरनेटको अत्यधिक दुरुपयोगले हिंसा, लडाईं, झगडा, मारकाट र यौनजन्य अश्लीलताजस्ता खराब संस्कारहरू बालबालिकाले सजिलै सिक्ने भएकाले यस्ता प्रविधिहरूको सही र सीमित प्रयोगका लागि अभिभावकद्वारा विशेष चासो देखाई निगरानी गरिनु अत्यावश्यक देखिन्छ ।
अन्त्यमा, नैतिकता र चरित्रबिनाको शिक्षा एकाकी र अपूर्ण हुन्छ । यस्तो शिक्षाले मानिस शिक्षित भए पनि अव्यवहारिक, कर्तव्यविमुख, भ्रष्ट र आपराधिक मानसिकताले युक्त हुन्छ । तसर्थ, बालबालिकलाई जसरी पनि तथाकथित ठूलो, धनी तथा सफल बन्न अभिप्रेरित नगरी असल, इमान्दार र विवेकशील बन्ने शिक्षा दिनु जरुरी छ । यसका लागि बालबालिकालाई विद्यालय तथा घरपरिवार दुवै स्थानमा सानैदेखि सैद्धान्तिकसँगसँगै व्यवहारिक, कर्तव्यमुखी तथा चरित्रमुखी शिक्षा दिनु आवश्यक छ । (लेखकः मानव अधिकार, न्याय र सामाजिक विषयवस्तुमा रूची राख्छन् ।)÷सेतोपाटी बाट सभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »