बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

प्रकाशित समय 9:26:00 AM

चार परिवारको अठार जनाको मृत्यु, सप्तरी नै शोकमग्न

कमलेश कुमार यादव
गोलबजार, ११ कार्तिक । तराई मधेसका जिल्लामा छठको रौनक नसकिदै आफ्नो कार्यक्षेत्र फर्किने क्रममा शनिबार बिहान धादिङमा भएको बस दुर्घटनामा जिल्लाबासीको मृत्यु भएपछि सिंगो सप्तरी जिल्ला शोकमा डुबेको छ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा शनिबार बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ । अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा नं ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी हुन ।
दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।
यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ ।
यो समाचार तयार पार्दा सम्ममा मृतकको संख्या ३० जना पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ । घाइते यात्रु मनोजकुमार ठाकुरले भने, ‘तीव्र्र गतिका कारण बसेको सिटमा अडिएर बस्न समेत समस्या भएको थियो ।’ उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, स्थानीयवासी र नेपाल रेडक्रस परिचालन भएका छन् ।
चार परिवारका अठार जनाको मृत्यु
चार परिवारका १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने अधिकाँस यात्रु सप्तरीकै छन् । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ तिलाठीको एकै परिवारका सात जनाको मृत्यु भएको छ । तिलाठीका सञ्जित झा, उनका भाइ अन्जित, सञ्जितकी पत्नी सिमी, छोराहरु अभिनव र प्रतिकको ज्यानको गएको परिवारजनले बताएका छन् । त्यस्तै सिमीका भाइ बिटु र बहिनी पूजाको पनि बस दुर्घटनामा मृत्यु भएको छ ।
बोदे बर्साइन नगरपालिका–२ नेङ्डाका एकै परिवारका पाँच जनाको बस दुर्घटनामा मृत्यु भएको छ । नेङ्डाका सुरेन्द्र चौधरी, उनका छोरा पशुपति र बहिनी पार्वतीको मृत्यु भएको हो । पार्वतीका छोराहरु सुदीप र सुशान्तको पनि दुर्घटनामा मृत्यु भएको परिवारजनले बताएका छन् ।
सप्तरीकै बोदे बर्साइन नगरपालिका–७ मानराजाका एकै परिवारका चार जनाको मृत्यु भएको छ । मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको दुर्घटनमा मृत्यु भएको छ । शिक्षक चतुरनारायण काभ्रेमा कार्यरत छन् ।
यस्तै सप्तरीकै कृष्णा सावरण गाउँपालिका–३ बनौलीका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । बनौलीका सुधिरा यादव र उनकी पाँच वर्षीया छोरी समिक्षाको बस दुर्घटनामा ज्यान गएको छ ।
पुगेँ भन्ने फोन आउँदै आएन
छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी–कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है !’ भन्ने फोनको पर्खाइमा थिए । तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० बर्षीय छोरा अभिनव, ४ बर्षीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए । उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ । ‘घरबाट निस्किने बेलामा बुबाआमासहित सबै अग्रजलाई खुट्टामा ढोगेर आर्शिवाद लिएका थिए’ स्थानीय पंकज झाले भने, ‘अहिले झाको घर मात्रै होइन, सिंगो तिलाठीमै रुवाबासी चलेको छ ।’
तिलाठीबासी अहिले झाको घरमा पुगेर सान्त्वना दिइरहेका छन् । तर, परिवारका पाँच सदस्य गुमाएका उनीहरुको मन के थामिन्थ्यो ! संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे ।
संजीत, उनका भाइ अन्जित घर आएर फर्किँदा काठमाडौं पुगेपछि फोन गर्थे । उनका ८५ बर्षीय बृद्व बुवा पण्डित रमानाथ र आमा निर्मलादेवीसहित परिवारका सदस्य शनिबार पनि त्यस्तै फोनको पर्खाइमा थिए । तर, शनिबार बिहान ८ बजेसम्म कुनै फोन आएन । संजितका काका पर्ने खजिन्द्र मिश्रले भने, ‘एक्कासी राजविराजको बस त्रिशुलीमा खसेको समाचार सुनियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा बुझ्दा घट्ना सही हो भनियो ।’
दुर्घटनाको खबर सुनेर बृद्व पिता रमानाथको बोली बन्द भएको छ । उनी हातमा लठी टेकेर बिहानदेखि बसेको ठाउँबाट उठ्न सकेका छैनन् । आमा निर्मलाको आँखामा आँशु थामिएको छैन । गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।’
पत्ति भाँचिएपछि आफ्नै कम्पनीको अर्को गाडीमा हाल्यौं : चालक रामचन्द्र मुखिया
राजविराजबाट शुक्रवार साँझ ६ः३० बजेतिर ना.६ख १४६६ नं. को सन्देश ट्राभल्स रात्री बस लिएर काठमाण्डौको लागि छुटेको थिएँ । राजविराजाम १५ र बाटोमा २४ जना यात्रु चढेका थिए । राती २ बजेतिर हेटौडा पुग्नै लाग्दा अचानक गाडीको पत्ती भाँचियो । गाडी अनियन्त्रित हुन खोज्यो । त्यसैले गाडी तत्कालै सडक किनारमा रोक्यौं । म र खलासी मो. जाहिर गाडी मुनि छिडेर पत्ती चेक ग¥यौं । ३–४ वटा पत्ति भाँचि सकिएकाले मर्मत नगरी काठमाण्डौसम्म जाने अवस्था थिएन । त्यसैले गाडी मालिक सुशिल मुखियालाई तत्कालै फोन गरी सवै जानकारी गरायौं ।
वहाँले काठमाण्डौबाट राजविराजका लागि छुटेको आफ्नै कम्पनीको बा.६ख १४६७ नं. को गाडी हेटौडा पुग्नै लागेको जानकारी गराउँदै सोही गाडीमा सवै यात्रु हाल्ने आदेश दिनुभयो । राती २ बजेर १० मिनट तिर उक्त गाडी हेटौडा आईपुग्यो । हाम्रो गाडीमा भएको सवै सात्रु सो गाडीमा हाल्यौं र सो गाडीमा भएका यात्रु आफ्नो गाडीमा हाल्यांै । हेटौमा गाडी मर्मत गराएर ३ बजे राती तिर पुनः राजविराजतर्पm फिर्ता लाग्यौं ।
विहान राजविराज पुग्दा आफुले यात्रु हालेको गाडी धादिङमा त्रिसुली नदीमा खसेर दुर्घटनामा परेको खवर सुन्दा छानाबाट खसेजस्तै भयो । हेटौडामा आफुले आफ्नो गाडीबाट ३९ जना यात्रुलाई ओरालेर सो गाडीमा चढाएको र पहिलेदेखि नै त्यहाँ रहेका केही यात्रुहरु पनि सो गाडीमा चढेको देखेको थिएँ ।
शोकमा सप्तरीका स्थानीय निकाय बन्द
त्रिशुलीमा भएको बस दुर्घटनाको शोकमा आज (आइतबार) सप्तरीका सबै स्थानीय निकाय बन्द गरिने भएको छ । त्रिशुलीमा शनिबार बस खस्दा ३१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश सप्तरीबासी छन् । राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएहरुलाई श्रद्धान्जलीस्वरुप आइतबार सबै स्थानीय निकाय र मातहतका कार्यालय बन्द गर्ने निर्णय भएको हो ।
राष्ट्रपतिद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
राष्ट्रपति विद्या भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । भण्डारीले वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।

मृतकको नामावली
१. सिम्मि कुमारी झा तिलाठी–३, सप्तरी
२. राजकपुर यादव गोलबजार न.पा.–८, सिरहा
३. नरेश मुखिया सप्तरी
४. चन्द्ररेखा प्रमाणी सप्तरी
५. चन्द्रावती झा रा.वि.न.पा.–१६, सप्तरी
६. अन्जित कुमार झा सप्तरी
७. पार्वती चौधरी सप्तरी
८. आदित्य यादव सप्तरी
९. सन्जित कुमार झा सप्तरी
१०. सुशान चौधरी सप्तरी
११. ममतादेवी ठाकुर बिहार, भारत
१२. चित्रलेखा प्रमाणी सप्तरी
१३. रामचन्द्र यादव सप्तरी
१४. सिधरा यादव प्रवनी–८
१५. सदिक्षा यादव सप्तरी
१६. सुरेन्द्र चौधरी सप्तरी
१७. आस्कि कुमार यादव सप्तरी
१८. प्रमोद ईसार सप्तरी
१९. प्रभा चौधरी लहान न.पा.–१, सिरहा
२०ं ऋषि अनन्ददीप रा.वि.न.पा.–१३, सप्तरी
२१. आदित्य झा रा.वि.न.पा.–१४, सप्तरी
२२. समिक्षा कुमारी यादव सप्तरी
२३. सन्दिप चौधरी सप्तरी
२४. सुरेन्द्र चौधरी सप्तरी
२५. माण्डी यादव सप्तरी
२६. मनिष ठाकुर मधुवनी, विहार
२७. उदय मण्डल नरहा गा.पा.–१, सिरहा
२८. आसिकी कुमारी यादव सप्तरी
२९. पशुपति चौधरी सप्तरी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »