रौतहटको सन्तपुरमा धमाधम निर्माण हु“दैछ धुर्मुस सुन्तलीको अर्को नमुना बस्ती

प्रकाशित समय 9:30:00 AM
रमेश तिमल्सिना
रौतहट, ११ कार्तिक । धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत बस्ती निर्माणको चौथो परियोजना अन्तर्गत हाल चन्द्रपुर नगरपालिका ८ सन्तपुरका दलित बस्तीमा ४७ घर बनाउँदैछन् । असोज ४ गतेदेखि सुरु भएको बस्ती निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ । माघको २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको फाउन्डेसनले जनाएको छ ।
पाँच करोड ७५ लाखको लागतमा बन्न लागेको यस बस्तीमा ४७ वटा आवासीय घर, एउटा भ्यु टावर, एउटा सामुदायिक भवन, एउटा मन्दिर, सार्वजनिक धारा र शौचालय बनाउने फाउण्डेसनका अध्यक्ष कलाकार  सीताराम कट्टेल धुर्मुसले बताए । हाल धुर्मुस र उनकी पत्नी कलाकार कुञ्जना घिमिरे सुन्तलीले बस्ती निर्माणको काममा जुटेका छन् । हालसम्म बस्तीका २२ घरको जग राख्ने काम सकिएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।
धुर्मुसले आफ्नो जन्मदिनको अवसर पारेर गत असोज ४ गते बस्ती निर्माणको काम सुरु गरेका थिए । ’माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्देश्यका साथ काम अघि बढाए पनि अझै धेरै सहयोग संकलन गर्न बाँकी रहेको छ र सहयोगको अपेक्षा पनि गरेको छु’ धुर्मुसले भने ‘धुर्मुस सुन्तली फाउण्डेसनका हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन, उहाँहरु बिना त हामी अधुरो छौं । सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई बस्ती निमार्ण गर्न कठिन हुँदैन।’
बस्ती निर्माणका लागि हालसम्म १ करोड रुपैयाँ मात्र संकलन भएको छ । अझै साढे ४ करोड रुपैयाँ आवश्यक पर्ने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले यसपटक बाढी पीडितका लागि नमुना बस्ती बनाउन लागेका हुन् । ’यस्ता कार्यमा राज्यको पनि लगानी हुन आवश्यक छ, अब पीडित परिवारलाई राहत हैन पुनर्निर्माणतिर लाग्नुपर्छ’ धुर्मुसले भने । एकीकृत बस्तीमा निर्माण हुने दुई तले घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ । एउटा घर लगभग साढे ३ धुर जग्गामा निर्माण हुनेछ । घर पूर्ण रुपमा भुकम्प प्रतिरोधी, बालमैत्री, अपाङ्क मैत्री र बातावरणमैत्री हुनेछ । अहिले परियोजना १२ कठ्ठा क्षेत्रफल भएको बस्ती निमार्णमा दैनिक २ सय ५० जना भन्दा बढी कामदारहरु काम गरिरहेका छन् । धुर्मुसले सधै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आफै काममा खटिएका छन् ।
धुर्मुस बने भगवान 
सन्तपुरमा नुमना बस्ती बनाएर घर दिने भएपछि दलित बस्तीका मानिसले धुर्मुस र सुन्तली भगवान बनेर उत्पत्ती भएको बताएका छन् । पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ५० घर दलित परिवारले माघ २४ गतेपछि सुविधायुक्त घरमा बस्न पाउने भएका छन् । गरिबलाई घर नै बनाइदिएर सहयोग गर्न आएका धुर्मुस सुन्तली मानिसमात्र नभएर भगवान नै भएको बस्तीका शैलेन्द्र माझी मुसहरले बताए । जीर्ण झुपडीमा बस्दै आएका माझी, मुसहर, दूषाध, लोहार र हजामका ५० परिवारका लागि फाउन्डेसनले घर बनाउन लागेको हो । नमुना बस्ती बनाउन जमिन, बाटो, लगायत सबै पूर्वाधार भएकाले सन्तपुरको दलित बस्ती नै छनोट गरिएको धुर्मसले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »