
त्यस्तै सिकिस्त बिरामी परेकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि ल्याई उपचार थालिएको अस्पतालबाट थाहा भएको छ । चेतनाको अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
दुई महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए । त्यस्तै केही दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि अहिले राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला, विषम ज्वरो लगायत विभिन्न रोगका बिरामी उपचार गराउनका लागि आउने गरेको पाइएको छ ।
सो अस्पतालमा दिनहँु २५ देखि ४० जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा एक्कासि बिरामीको चाप बढेकाले श्ययाको समेत अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवा भुइँमै बस्ने गरेको र भुइँमै उपचारसमेत गराउन बाध्य भएको अस्पतालका चिकित्सकले गुनासो गरेका छन् । त्यस्तै अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अधिकांश बिरामी उपचार नपाएर धरान र विराटनगरको ठूलो अस्पतालमा जानुपर्ने बाध्यता समेत भोग्नु परिरहेको बिरामीका कुरुवाले गुनासो गरेका छन् ।
