गोलबजार, ३० असोज । सिरहाको रामपुर प्राथमिक बिद्यालयमा अध्ययन बालबालिकाहरु खुला आकाशमूनि पढ्न बाध्य भएका छन् । विद्यालय भवनको छानो समेत छैन । विद्यालयमा न त डेस्कबेन्चको नै व्यवस्था छ । उनीहरु भुँइमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा २५० विद्यार्थी छन् । जस मध्ये बाल कक्षा र कक्षा एकमा विद्यार्थी बस्ने डेक्स बेन्च पनि छैन । कोठाको छानो पनि छैन ।
बाल कक्षामा अध्ययन गर्ने बालबालिकाका लागि मोटो कार्पेट सहितको कक्षा कोठा र बालबालिका मैत्री राउण्ड टेबल हुनु पर्ने ब्यबस्था भएपनि रामपुर प्राबिमा अध्ययन गर्ने बालबालिकाहरु थोत्रे काठपात राखेको गोदाम जस्तो कोठामा पढ्छन् । बालबालिकाहरुले घरैबाट बोरा लिएर त्यही ओछ्याएर बस्ने गरेका छन् । पातलो एकसरो बोराबाट चिसो आउने हुँदा बालबालिकाहरु मुस्किलले मात्र विद्यालयमा बस्ने गरेको अभिभावकले बताउने गरेका छन् ।

छानो हावा हुरीले उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नगर्दा विद्यार्थीको पढाई लेखाई बिग्रेको मोचीको भनाइ छ । विद्यालयका प्राध्यानाध्यापक प्रकाश गुप्ताले विद्यालयको कुनै श्रोत नभएकाले भत्किएको छानो मर्मत गर्न नसकेको बताए । विद्यार्थीहरुलाई अप्ठ्यारो भएको स्वीकार गर्दै उनले विद्यालयसँग कुनै श्रोत नभएकाले बाध्यताबस खुल्ला आकाशमुनी पठाउनु परेको उनले बताए ।
