प्रकाशित समय 9:27:00 AM
                              डा. उद्धव प्याकुरेल 
बाम एकताको प्रस्तावसँगै तातिएको काठमाण्डुको राजनीतिले नयाँ बहस सिर्जना गर्दैै गएको छ । सँगसँगै नयाँ प्रकारका ध्रुवीकरण, आशंका, डर, नैराश्यता र आशावादीता पनि देखिएका छन् । नेपालका सन्दर्भमा हेर्दा याने एकताको प्रस्तावलाई त्यत्ति असहज अथवा नौलो रुपमा हेर्नुपर्ने देखिँदैन ।
चुनाव चिन्ह जे लिएर लडे पनि आखिरमा कतिपय सन्दर्भमा राष्ट्रिवादी, कहिले बाम त कहिले लोकतान्त्रिक भनेर यस्ता प्रकारका गठबन्धनहरु पहिला पनि देखिएकै हुन् । तर यस पटक अलिक आश्चर्य यस मानेमा देखियो जसरी सिंगो देश चाडबाडको रमझममा रहेको अवस्थामा रातारात बाम एकताको उदघोष भयो । जनस्तरमा र मिल्ने भनिएका दलका कार्यकर्ता तहमा गएर छलफल गरेर योे प्रयास गरिएका भए सायद यो प्रकारको शंका र नकारात्मक चर्चा कम हुन्थे होला । जे होस् हाम्रो जस्तो विस्तारै वयष्क हुँदै गरेको लोकतन्त्रमा दलहरु टुटेको भन्दा जुटेको विषयलाई सकारात्मक रुपमा लिएर जानुपर्ने हुन्छ ।
त्यस्तै मैले त यसलाई नेपाली जनतालाई थोपरिएको चाहना पनि भन्ने गरेको छु । चाहना यस मानेमा कि लोकतन्त्र भित्र पनि खाली सरकारमा बेलाबेलामा हुने गरेको फेरबदललाई लिएर यहाँ अस्थिरता भयो, यहि अस्थिरताले गर्दा हामी विकसित हुन सकेनौं, हाम्रो गरिब लगायत सबै समस्याको केन्द्र यही राजनीतिक अस्थिरता भयो भनेर विगत केहि समय देखी जनस्तरमा समेत रटान रहदै आएको अवस्थामा कारण । यो अवस्था भयो भनेर रटाइएको कुरा हामी नेपालीले अध्ययन र विश्लेषण गरेर भनेको भन्दा अरुहरुले दुईचार पटक भनिदिए पश्चात हाम्रा विद्धान र नेताहरु मार्फत जनजिब्रोमा पु¥याइएकाले गर्दा यसलाई मैले थोपरिएको भनेको हुँ ।
नेताहरुको व्यवस्थापन कसरी होला ?
तर, जसरी एकताको प्रस्ताव जनसममक्ष आएको छ र त्यस प्रयासमा जुनजुन नेताहरु अगाडि देखिएका छन् । उनीहरुको पृष्ठभूमि, विगत र विद्यमान हैसियतलाई हेर्दा यो प्रस्ताव टुंगोमा पुग्छ कि पुग्दैन भन्नेमा अझै शंका गर्ने ठाउँ देखिन्छ ।
पात्रहरुको चर्चा गर्दा अनेक अवगुण विच त्यहाँ माओवादी अध्यक्ष पुष्पकमाल दाहाल यस्ता एकताको प्रयासमा अलिक फराकिलो छाती भएका एक्ला व्यक्ति देखिए । तर सर्वप्रथम उनको दलको आजको हैसियतका कारण भोलि बन्ने भनिएको एकीकृत बाम दलमा उनलाई स्वीकारेर जाने सम्भावना कति छ भनेर हेर्नुपर्ने देखिन्छ । किनभने आजसम्मको एमालेको तालिम र प्रशिक्षण प्रचण्डजस्ता नेताहरुलाई बदनाम गराएर अगाडि बढेको अवस्था हो ।
प्रचण्डलाई अन्तराष्टिय अदालतमा उभ्याएर दण्डित गरिनुपर्छ भन्नेहरु आज काँग्रेस या नेपालका अन्य राजनैतिक वृत्तमा भन्दा एमालेमा ठुलो संख्यामा छन् । के नयाँ परिस्थीतीका नाममा एकाएक उनिहरु दाहाललाई नेता मानेर आफुले चलाईरहेका दोकान वन्द गर्न तयार होलान् भन्ने आजको महत्वपुर्ण सवाल हो । अर्का प्रमुख पात्र ओलीजीको कुरा गरौं । आफूभन्दा अगाडि प्रधानमन्त्री भइसकेका र एमाले पार्टी वषौंसम्म चलाइसकेका नेताहरुलाई पनि अति कमजोर हैसियतमा राखेर पार्टी चलाउन सफल उनी संगठनका मामलामा अति चतुर देखिन्छन् ।
दाहाल जहाँ रहन्छन, उनले समर्थक वनाउन जे पनि गर्छन् र आफ्नो स्थान वनाएर जान्छन् भन्नेकुरा राम्ररी वुझेका यस्ता ओलीले आफुले हिजो हजारौ मञ्चमा उभिएर आतंकवादी देखी अवसरवादी समेत भनेर आलोचना गरेका माओवादी नेतृत्वलाई पार्टीमा हाबी हुन दिने सम्भावना कत्तिको रहला ? त्यस्तै बाबुराम भट्टराइ आफैमा संगठन विस्तारमा त्यति काबिल नदेखिए पनि उनको पार्टी संगठनबाहिरको तप्कामा रहेको लोकप्रियताका कारण ठूलो दलमा रहँदै वस्दै गर्दा एकाएक उनको हैसियत आकाशिने अवस्था साँच्ची के ओलीजी र दाहाल दुवैलाई पाच्य होला त भन्ने अर्को सवाल हो ।
यसबाहेक एमालेभित्रै ओलीजीपछि नेतृत्वमा रहन पर्खेर बसेका नेताहरुले आफू ठूलो दल भइरहँदा र अव त पालो आयो भनेर कुरेर वसिरहेको अवस्थामा रातारात अर्केै दलका नेतालाई नेतृत्व स्वीकारेर जाने सम्भावना पनि कति सहज होला भनेर पनि यहाँ हेर्नुपर्ने एकातिर छ भने अर्को्तिर माओवादीभित्रै वर्षमान पुन र कृष्णबहादुर महराहरुले आजसम्म पाइरहेको भुमिकाको व्यवस्थापन एउटै वाम दल बन्दै गर्दा त्यति सहज होला त भनेर पनि हेर्नपर्ने देखिन्छ ।
भु–राजनीतिको व्यवस्थापन र हाम्रा नेताहरु
गल्लि गल्लिमा र चोक चोकमा आज पनि नेपालमा कमसेकम राजनीतिमा भारतीय प्रभाव नै छ भनेर विश्लेषण गरिँदै आएको छ । कतिपयले त अहिलेको नयाँ समिकरणमा पनि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा भारत नै हावि छ भनेर टिप्पणी नै गरेको सुन्न पाइयो । तर यो एकताको प्रस्ताव जनसमक्ष आएसँगै काठमाण्डुमा एउटा ठुलो समुहले चीन नेपालको राजनीतिमा सफल भयो र भारतको सर्वनाक हार भयो भनेर चर्चा चलाए र आफूलाई चीन पक्षीय भन्नेहरुले त एक प्रकारको खुसी नै बाँडेर हिंडे ।
सामान्य जस्ता देखिएका यि घटनाले पनि यो गठबन्धन कति टिक्छ भन्नेमा आशंका वढाइ दिएको देखिन्छ । पहिलो भनाईलाई सहि मान्ने हो भने यो गठवन्धन भारतको वास्तविक इच्छा नभई चीनसंग नजिकिन खोजेको वाम शक्तिलाई लालिपप देखाएर फेरी एक पटक नेपालमा आफ्नोे प्रभुत्व देखाउन सफल भएको मान्नुपर्छ । यदि दोश्रो भनाई सहि हो भने पनि अब यसलाई सफल हुन नदिन या यस गठबन्धलाई टुंगो नपु¥याउन भारतले केही न केही त गर्छ होला भन्ने हो । माथि नाम लिइएका यस एकताका मुख्य पात्र भनिने नेताहरुको विगतले हामी सबैले अन्दाज गर्ने कुरा के हो भने उहाँ नेपालमा शक्तिमा रहने नाममा आज पनि भारत र चीन मध्ये एक रोज्नपर्दा कतातिर रोज्लान भनेर ।
अन्त्यमा यो गठवन्धन कतै चीनलाई देखाएर अर्थात चाइना कार्ड मार्फत फेरी एक पटक भारतियहरुको सदिच्छा पुरा गर्नेमा अग्रसर हुन्न भन्ने गरि धेरैले गरेको अनुमानलाई कसरी चिर्दैजाला, त्यसैवाट यस गठवन्धनको भविष्यको अन्दाज र नेपाल र नेपालीले यसवाट पाउने फाइदा या सकसका वारेमा अनुमान गर्न सकिएला । अहिले नै सवै तस्विर छर्लगं भइसकेको देखिन्न । –सहायक प्राध्यापक काठमाण्डु विश्वविद्यालय ÷काठमाडौं टुडेबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »