
उक्त खानेपानीबाट त्यहाँका सयौं उपभोक्ता पानीको सेवा लिँदै आएका भएपनि सम्बन्धित निकाय मौन बसेका कारण पानीको समस्या हुँदा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताए । शुद्ध पानी खाने आशामा धारा जडान गर्नका लागि रु एक हजार ५०० धरौटी र मासिक रु १०० को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षतिग्रस्त बनाएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले भने । यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ ।
गत असार १७ गते अविरल वर्षासँगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो । यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताए ।
