त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि

प्रकाशित समय 1:04:00 PM
गोलबजार, १२ कार्तिक । त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आइतबार बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ ।
छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडाँै हिँड्नुभएका नेता यादव शनिबार ना ६ ख १४६७ नंको बस त्रिशूलीमा खस्दा उनीसहित ३१ जनाको मृत्यु भएको हो । यादवको शव आफन्तले गए राति नै ल्याएको र आइतबार बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको काँग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए । अन्त्येष्टिअघि सभापति यादवले मृतक यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिए ।
प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं ३ (ख) बाट यादवको नाम सिफारिस भएको र त्यही सिलसिलामा काठमाडाँै जाने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो । स्व यादवका श्रीमती र दुई छोरा हुन । यसैबीच यादवको दुर्घटनामा परी मृत्यु भएपछि सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वाका स्थानीयवासी स्तब्ध बनेका छन् । ‘यादव अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए’ वडाध्यक्ष राजदेव यादवले भने, ‘बस दुर्घटनामा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनाँै, शव आएपछि मात्र विश्वास भयो ।’
यस्तै छठ मनाएर छोराछोरीलाई काठमाडौँमा पढ्नका लागि पु¥याउन सोही बसमा हिँडेकी सिरहाको लहान–१ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन । आमासँगै दुर्घटनामा परेकी उहाँकी छोरी निविदिता र छोरा सुगमको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मैनवत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली
धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्न सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाका बिभिन्न स्थानमा आइतबार साँझ मैनवत्ती बालिएको छ । सदरमुकाम राजविराजमा बिभिन्न संघसंस्थाको अगुवाईमा भएको श्रद्धान्जली कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहसहित सर्वसाधारणले  मैनबती बाली ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गरे । शनिबार त्रिशुली नदीमा बस खस्दा कम्तिमा ३१ जनाको ज्यान गएको थियो । दुर्घटनामा मृत्यु हुने अधिकांश सप्तरीबासी छन् । घटनाले सप्तरी जिल्ला शोकमा डुबेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »