फोरम र राजपाबीच भएको सिट बाँडफाँटको स्थानीयस्तरमा विरोध

प्रकाशित समय 9:14:00 AM
राजविराज, १४ कार्तिक । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मंगलबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालबीच भएको क्षेत्रको बाँडफाँटप्रति स्थानीयस्तरमा नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएका छन् । क्षेत्र बाँडफाँटको सूची सार्वजनिक गरेको केही मिनेटमै राजपाका केन्द्रीय नेताहरु उक्त सहमतिको विपक्षमा ओर्लिएका छन् ।
पार्टीमा टिकट दिँदा समर्पित कार्यकर्तालाई मूल्यांकन हुनुपर्ने भन्दै विगत चार दिनदेखि राजविराजमा आमरण अनशन बसेका राजपाका नेता लक्ष्मण यादवको अनसन तोडाउँदै राजपा नेताहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
राजपा र फोरमबीच भएको क्षेत्र बाँडफाँटअनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र २(१) प्रदेशसभामा फोरम र २(२) प्रदेशसभामा राजपाले उम्मेदवार दिने सहमति भएको छ । फोरम नेताहरुका अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रदेशसभा अन्तर्गत २(१) बाट फोरमका शैलेन्द्रप्रसाद साह तथा २(२) बाट राजपा महासचिव मनिषकुमार सुमन चुनाव लड्ने तय भएको छ ।
मंगलबार स्थानीय गजेन्द्र चोकमा आयोजित कार्यक्रममा राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले सप्तरीको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरे ।
साविकको तराई÷मधेस लोकतानित्रक पार्टीका सहमहामन्त्री भई ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका जयप्रकाश ठाकुर राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका नजिकका मानिन्छन् । उम्मेदवारी घोषणा गर्दे ठाकुरले भने, ‘पार्टीलाई समानुपातिकमा गर्लफ्रेन्डको बनाउन खोजियो, पारिवारवाद लादियो, प्रत्यक्षमा व्यक्तिवादी चरित्र देखाउँदै जनाभावनासित खेलवाड गरियो ।’
कार्यक्रममा ठाकुरकै हातबाट जुस खाएर आमरण अनशन तोडेका राजपा नेपालका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले आगामी प्रदेशसभाका लागि सप्तरीको क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरे । राजपाको भागमा परेको प्रदेशसभाको उक्त क्षेत्रबाट महासचिव मनिष सुमन उम्मेदवार बन्ने तय भइसकेको छ । महासचिव सुमनविरुद्ध उम्मेदवारी घोषणा गरेका यादवले भने, ‘टिभी र फेसबुकको महामन्त्री भएर आउनेलाई उम्मेदवारी दिने अनि आन्दोलनमा ज्यानको बाजी लगाउनेलाई बेइमानी गरेर पाखा लगाउने कुचेष्टा गर्ने  ?’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »