अन्तरक्रियामा उपस्थित राजनैतिक दलका नेताहरुलाई यादवले भने, ‘आफ्नै जिल्लाको यादव प्रमुख निर्वाचन आयुक्त हो भनेर नभुल्नुस, आचारसंहिता उल्लंघन गरेको खण्डमा कारबाही हुन्छ हुन्छ ।’ उनले सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापकहरु उम्मेदवारहरुको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न प्रशासनलाई निर्देशन दिए । उनले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भने, ‘सिडिओ साब,शिक्षक र सरकारी क्याम्पसका प्राध्यापकहरु प्रचारप्रसारमा लागेको पाइए तत्काल थुनेर कारबाही गर्नुस् ।’
उनले आचारसंहिता पालना गर्ने कार्यलाई राजनैतिक दलका नेताहरुले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताए । यादवले भने, ‘अरु बेला गरिवका घरमा एउटा गम्छा समेत नबाँढ्ने दलका नेताहरु चुनावका बेला भेस्ट, टिसर्ट लगायतका के के बाँड्छन बाँड्छन् ।’ उनले स्थानीयस्तरमा दलका नेता र उम्मेदवारहरुबाट हुने आचारसंहिता विपरितका कार्यको जवाफ अब ति दलका केन्द्रीय नेताहरुलाई दिनुपर्ने भन्दै आचारसंहिता उल्लंघन गरेको पाइए एकलाख रुपैयाँसम्म जरिवाना गरिने बताए । कुनै पनि बहानामा निर्वाचनको स्वच्छतासित सम्झौता गर्न नसकिने बताउँदै यादवले भने, ‘म पनि मधेसी हुँ, मधेसी हुनुमा मलाई गर्व छ तर मलाई राष्ट्रिय जिम्मेवारी पनि छ, जुन मैले पुरा गर्नुपर्ने हुन्छ ।’
निर्वाचनको बेला सञ्चारकर्मीहरुलाई सूचना उपलब्धताका लागि कुरा मिलाउन आयोग तयार रहेको उनले बताए । अब कुनै पनि बहानामा तोकिएको समय भन्दा पछि निर्वाचनको तिथि नसर्ने बताउँदै यादवले भने, ‘अब निर्वाचन कसैले रोकिएर रोकिँदैन, रोक्नु भन्नु पनि अपराध सरह नै हो ।’
