सर्लाही, १७ असोज । सर्लाहीमा खोलाले बगाउँदा पाँच जना वेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका–२ मा लखन्देही खोलाले बगाउँदा ३ बालबालिकासहित ५ जना बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि ४ जना वेपत्ता भनिए पनि ५ जना हराएको पुष्टि भएको प्रहरीले जनाएको छ । पर्साको गढी नगरपालिकाबाट सर्लाही जाँदै गरेका ६ जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका २ नेत्रगञ्ज घर भएकी भिममाया काफ्लेको भने शव भेटिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ९ का रामदेव साहसहित पर्साको गढी नगरपालिकाकी ४ बर्षकी कृतिका ढुंगाना, ७ बर्षका किस्मत ढुंगाना, डेढ बर्षकी कृतु ढुंगाना र भवानी ढुंगाना वेपत्ता भएको प्रहरीले जनाएको छ । चुरे क्षेत्रमा ठुलो पानी परेकोले उनीहरुले बाढीको पत्तो नपाएर खोला तर्दा बाढीमा बगेको प्रहरीले जनाएको छ ।