हेटौडा, ६ कार्तिक । म्यादी प्रहरीको भर्ना छनोटको प्रक्रियामा सोमवार हेटौडा उपमहा नगरपालिका–४ लोकतान्त्रिक चौरमा दौडिने क्रममा एक युवकको मृत्यु भएको छ । मकवानपु्रको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरे एक किलोमिटर दौडिने क्रममा अन्तिम बिन्दुभन्दा केही अघि लडेका थिए । उनलाई तत्कालै अस्पताल लगिंदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सोमबार प्रहरीले म्यादी प्रहरीमा आवेदन दिएकाहरुलाई दौड, शारीरिक व्यायाम र स्वास्थ्य परीक्षण गराएको थियो । घिमिरेको मुटुको समस्याका कारण निधन भएको हुनसक्ने चिकित्सकले बताएका छन् । प्रहरीमा आवेदन दिएकाहरुलाई ५ मिनेटमा एक किलोमिटर दौड पार गर्नुपर्ने नियम राखेको थियो । ‘५५ वर्ष उमेर काटिसकेकाहरुले समेत सहज ढंगले तोकिएको समयमा पार गरेका थिए तर घिमिरे भने अन्तिम विन्दुमा आएर चौरमा लडे’ प्रहरी नायब उपरीक्षक दिलिपराज झाले भने, ‘शरीरका कुनै पनि भागमा पनि चोट पटक देखिदैन तर मृत्यु भयो ।’
मकवानपुरका लागि ३ सय २४ महिलासहित १ हजार ३ सय २८ जना म्यादी प्रहरीहरु भर्ना गर्ने कोटा तोकिएको छ । एक हजार ७२ महिलासहित ३ हजार ३ यस ४५ जनाले म्यादी प्रहरीका निम्ति आवेदन दिएका छन । बेरोजगारीका कारण म्यादी प्रहरीमा भर्ना हुनका लागि स्नातक तह उत्तीर्ण गरेकाहरुले समेत प्रतिस्पर्धा गरिरहेका छन । म्यादी प्रहरीमा जागिर खान अधिकांश ११ र १२ कक्षा अध्ययनरतहरुले दर्खास्त दिएका छन् ।
