कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त भएको थियो । प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा नगरपालिकाको सो रकम गोलमाल भएको हो । नगरपालिकाको खाताबाट एकैसाथ रु ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पत्रकारसँग कुराकानी गर्दै भने, ‘पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।’ गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको उनले बताए ।
यता गौशाला नगरपालिकाको त्यति ठूलो रकम निकासा भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको नगरप्रमुख शिवनाथ महतोले बताए । नवनिर्वाचित प्रमुख महतोले भने, ‘जनताको पैसा लुट्ने कर्मचारी र भ्रष्टाचारीलाई कारबाही हुन्छ ।’ नगरपालिकाको रकम दुरुपयोग गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने महतोले चेतावनी दिए ।
