धनुषामा काँग्रेसलाई राजपाको चुनौती

प्रकाशित समय 11:21:00 AM
जनकपुर, १६ कार्तिक । मंसिर २१ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मनोनयन दर्ता गराएपछि घमाशान हुने तय भएको छ । निधिको गृहजिल्ला र पूर्व देखिनै कांग्रेसको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा राजपा नेता महतोले उम्मेदवारी दिने विभिन्न अड्कलबाजीहरु पूर्वमा हुंदै आएको थियो । तर, उनी आयातित रुपमा उम्मेदवारी दिनु नहुने आवाज उनको पार्टी भित्रबाट समेत उठिरहेको हुंदा मनोनयन दर्ताको एक दिन पूर्व सम्म पनि टिकटको टुंगो लगाउन राजपा भित्र सकस भएको थियो ।
विहीबार मनोनयन दर्ताको अन्तिम समयमा आफ्ना कार्यकर्ताहरु सहित निर्वाचन आयोगको कार्यालयमा पुगेर महतोले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट निधि उम्मेदवारी दिन आउँदा हजारौंको संख्यामा कार्यकर्ताहरु सहभागि भएर नारा जुलुश गरेका थिए । तर, राजपा नेता महतोसंग सो मात्रामा दलबल देखिएन् ।
मधेस आन्दोलनको मुद्दाको जगमा राजनीति गरिरहेका राजपा नेता महतोले निधिसंगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका हुन् । तर, यस क्षेत्रका बुद्धिजीविहरुका अनुसार राजपाको लागि निधिको क्षेत्रमा टिक्न गाहेनै हुनेछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »