‘प्रजातन्त्र बचाउन कटिबद्ध’ हुन नेताहरुको आग्रह
गोलबजार,२० कार्तिक । प्रजातन्त्रलाई धरापमा पार्न नेकपा एमाले र माओवादी केन्द्र सम्लित बाम गठबन्धन बनेका प्रजातान्त्रिक नेताहरुले आरोप लगाएका छन् । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को चुनावी सहकार्य भेलामा बोल्दै आईतवार नेताहरुले त्यस्तो आरोप लगाए ।आसन्न चुनावमा प्रजातान्त्रिक शक्तिले बहुमत प्राप्त गर्न नसके आउने दिनमा सबैलाई नोक्सानी हुने नेपाली काँग्रेसका कोषाध्यक्ष एवम् पूर्व मन्त्री सितादेवी यादवले बताइन् । उनले अन्य मुलुकको उदाहरण दिँदै जुन देशमा बामपन्थी शक्तिले शासन जमाएका छन् त्यो देशमा राजनीतिक रुपमा पछि परेका वर्गको अवस्था दैनिय बनेको विगत साक्षी रहेको भनिन् ।
आउने दिनको अवस्थाबारे चर्चा गर्दै युवा, महिला र विपन्न वर्गको राजनीतिक अवस्थालाई फेर्नु छ भने प्रजातान्त्रिक शक्तिको बिकल्प बाम शक्ति नभएको उनले ठोकुवा गरे । उनले यो गठबन्धनको सत्ता प्राप्ती बाहेक कुनै जनताको हितको कुनै आकांक्षा नरहेको आरोप लगाए । उनले भने, ‘वामगठबन्धनमा कम्युनिष्टको सिद्धान्त भएको भए जनयुद्धका योद्धालाई सम्मान गरिन्थ्यो ।’ माओवादी सशस्त्र युद्धकालमा सहादत प्राप्त गरेका परिवारलाई राहत रकम आफुले मन्त्री भएकोवेला निकासा गराएको उनले बताइन् ।
प्रजातन्त्र बचाउ गर्न बाम गठबन्धन बिरुद्धको अभियानमुखी आसन्न चुनावमा आ–आफ्नो तहबाट सबैलाई लाग्न राप्रपा (प्रजातान्त्रिक) बरिष्ठ नेता एवम् भुतपूर्व मन्त्री विषेश्वर मोरवैताले बताए । यस पल्टको जित कुनै खास पार्टी, व्यक्ति र वर्गको लागि नभई प्रजातन्त्र बचाउ गर्नको लागी रहेको उनले तर्क गरे ।
पार्टीको अवधारणा अनुरुप पछिल्लो चुनावी रणनीतिमा अडिग रहेर राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसले प्रजातन्त्र बचाउ गर्न चालेको कदमलाई आत्मसात गर्दै नेपाली काँग्रेसका प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई हरेक प्रकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । साथै प्रजातन्त्र बचाउको अभियानमा व्यक्ति, पार्टी र पैसाको मोह नताकि पार्टी पंक्तिको लाइनलाई मानेर आ–आफ्ना स्थानबाट आसन्न चुनावमा लाग्न सबैसँग उनले आग्रह गरे ।
‘लेन र देन’ को रणनीति अनुसार दुबै पार्टीले अघि बढ्नुपर्ने धारणा राख्दै उनले फुटेर हैन जुटेर अघि बढ्ने चुनावी अभियानमा पार्टीले तय गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । देशमा जब–जब संकट आएको छ तब–तब प्रजातान्त्रिक शक्तिले शान्तिपूर्ण तवरले व्यवस्थापन गर्ने काम गरेको हुनाले प्रजातान्त्रिक शक्तिको बिकल्प अरु हुनै नसक्ने उनले जिकिर गरेका छन् ।
काँग्रेस नगर सभापति अषिशलाल यादवको अध्यक्षमा भएको भेलामा नेपाली काँग्रेस प्रतिनिधिसभाका उम्मेदवार अमर रेग्मी, प्रदेशसभा ‘ख’ का उम्मेदवार डा सुभाषचन्द्र यादव, नेपा पूर्व जिल्ला सचिव जीवछ गुप्ता लगायतले प्रजातन्त्रको महत्व दर्साउदै आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष शम्भु यादव, उद्धव अधिकारी लगायतले विचार व्यक्त गर्दै प्रजातन्त्र बचाउका लागि नैतिक र भौतिक रुपमा लागीरहेको बताएका छन् । भेलामा विभिन्न गाउँबाट हजारौंको संख्यामा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु आएका थिए ।
