जनकपुर, १९ कार्तिक । यही मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा धनुषाको ४ वटा क्षेत्रबाट १० जना मन्त्री, पूर्व मन्त्री र निवर्तमान मन्त्रीहरु चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । धनुषामा ९ मन्त्रीहरु प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धामा उत्रीएका छन् भने एक मन्त्री प्रदेशसभाको निर्वाचनका लागि प्रतिस्पर्धा गर्दैछन् ।
धनुषाको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि पूर्व भुमिसुधार मन्त्री मातृक प्रसाद यादव वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् भने, नेपाली काँग्रेस तर्फबाट निवर्तमान शान्ति तथा पुनःनिर्माण मन्त्री आनन्द प्रसाद ढुङ्काना चुनावी प्रतिस्पर्धामा देखिएका छन् । उनीहरुसंगै सो क्षेत्रमा फोरम र राजपा नेपालको संयुक्त उम्मेदवार दिपक कार्की समेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
यसैगरी क्षेत्र नं. २ मा प्रतिनिधिसभाको लागि वाम गठबन्धनको तर्फबाट पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने काँग्रेसको तर्फबाट हालका कृषि मन्त्री रामकृष्ण यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुसंगै फोरम नेपाल र राजपाको संयुक्त प्यानलबाट उमाशंकर अरगरियाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको लागि संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोलाई उम्मेदवार बनाईएको छ । यसैगरी नेपाली काँग्रेसले निवर्तमान उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई उम्मेदवार बनाएको छ भने, बाम गठबन्धनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवलाई उम्मेदवार बनाईएको छ । यो धनुषाको क्षेत्र नं. ३ मा प्रदेशको सम्भावित राजधानी जनकपुर र मधेश आन्दोलनको केन्द्रभुमि समेत मानिएको हुँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस भन्दा दोब्बर मतले राजपा विजयी भएको क्षेत्र हो ।
यसैगरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभाको लागि वाम गठबन्धनको तर्फबाट पूर्व सिचाई मन्त्री रघुवीर महासेठलाई उम्मेदवार बनाईएको छ भने, हालका खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवलाई उम्मेदवार बनाईएको छ । भने राजपा र फोरमले महाजन यादवले संयुक्त प्यानलको उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा वाम गठबन्धनको तर्फबाट पूर्व स्थानीय विकास राज्यमन्त्री शत्रुधन महतो भने प्रदेशसभा (ख) को लागि उम्मेदवार बनेका छन् ।
