शीर्ष नेताहरुकै विरुद्धमा बागी उम्मेदवार

प्रकाशित समय 11:22:00 AM
काठमाडौं, १६ कार्तिक । लोकतान्त्रिक, वाम गठबन्धन तथा मधेसी दलको गठबन्धनप्रति असन्तुष्ट रहेकाहरुले पार्टीको निर्णय विरुद्ध केही जिल्लामा बागी उम्मेदवारी दिएका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव विरुद्ध पनि बागी उम्मेदवारी परेको छ । महन्थ ठाकुर विरुद्ध महोत्तरी–३ मा राजपाकै पूर्व सांसद चन्द्रेश्वर झाले उम्मेदवारी दिएको छ भने सप्तरी २ मा उपेन्द्र यादव विरुद्ध राजपाका नेता जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएको छ ।
यस्तै राजपाका नेता अनिलकुमार झा विरुद्ध रौतहट १ मा संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्व सभासद बबन सिंहले बागी उम्मेदवारी दिएको छ । त्यस्तै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएको छ । नेता जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार भएको प्रतिक्रिया दिए ।
कैलालीमा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणविरुद्ध क्षितिज भन्डारीले बागी उम्मेदवारी दिएको छ । दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस र राप्रपाका संयुक्त उम्मेद्वार दिपककुमार शाहीविरुद्ध पूर्व सांसद गणेशबहादुर चन्दले वागी उम्मेदवारी दिएको छ । यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ क मा नरसिंह मल्ल र ख मा लक्ष्मण गुरुङले बागी उम्मेदवारी दिएको छ ।
यसैगरी माधवकुमार नेपालविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ मा एलपी श्रेष्ठले बागी उम्मेदवारी दिएको छ । यस्तै वाम गठबन्धनविरुद्ध दाङमा एमालेकी कोमल वली र माओवादी केन्द्रका कुवेर वलीले स्वतन्त्र उमेदवारी दिएको छ । गायिका कोमल वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि र माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्व सभासद कुवेर वलीले क्षेत्र नं ३ क बाट एमाले नेता शंकर पोख्रेलविरुद्ध प्रदेशसभा सदस्यका लागि बागी उमेदवारी दर्ता गराएको हो ।
यस्तै सिन्धुलीमा हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेलले बागी दिएको छ भने माओवादीकै लेखनाथ दहालविरुद्ध दिलबहादुर बिकले बागी दिएको छ । सिन्धुलीमै एमालेका गणेश पहाडीविरुद्ध कुमार कार्कीको बागी परेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »