सिरहामा चोरी पैठारीको कपडासहित तीनजना पक्राउ

प्रकाशित समय 7:46:00 AM
सिरहा, २१ कार्तिक । सिराहा भन्सार कार्यालयले कपडा चोरी पैठारीमा संलग्न तीनजनालाई  पक्राउ गरेको छ । भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निजहरुलाई सिरहा जिल्ला कल्याणपुर नगरपालिका अन्तर्गत कमला नदीको चत्री घाटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषाको जनकनन्दनी गाउपालिकाका–३ का अशोककुमार महतो, सोही स्थान बस्ने मोहम्द फिरोन राईन र सिरहा जिल्ला कल्याणपुर नगरपालिका–१ बनिनियाका सन्तोषकुमार मण्डल छन् ।
उनीहरुले उक्त कपडा भारत बिहारको जयनगरबाट धनुषा जिल्ला हुदै कमला नदीको चत्री घाटबाट डुंगामा तारेर सिरहा जिल्लाको चत्री बनिनिया कल्याणपुर हुँदै सिरहाका विभिन्न स्थानहरुमा लैजाँदै गरेको बुझिएको छ ।
उनीहरूको साथबाट १८ लाख मुल्य बराबरको विभिन्न किसिमका कपडाको १७ पोका र एउटा मोटरसाइकल समेत बरामद भएको छ । एक महिनाभन्दा पनि कम समयमा भन्सार कार्यालयले यति धेरै परिमाणमा कपडा बरामद गरेको यो तेस्रो पटक हो ।
यसअघि असोज ३० गते भन्सार कर्मचारीहरुको गस्ती टोलीले सिरहा जिल्ला लहान नगरपालिका बर्छैवाबाट दुई जनालाई  दुई लाख रुपैयाँ मूल्य बराबरको कपडा पक्राउ गरेको थियो । यस्तै  असोज ३१ गते पनि सिरहा नगरपालिकाको सिरहा बजारदेखि दक्षिण पूर्वी कुनामा पर्ने छोटकी टोलाबाट भन्सार छलेर नेपाल भित्र्र्याइएको २२ लाख रुपैयाँ मुल्यको कपडासहित दुई जनालाई पक्राउ गरेको थियो ।
चोरी पैठारी र निकासी न्युनीकरण गरी राजस्व असुली बृद्धि  गर्न कार्यालयले नियमित गस्ती टोली परिचालन गरिरहेको छ । नेपाल भारत खुल्ला सीमाका कारण पछिल्लो केही समयदेखि भारतबाट भन्सार छलेर व्यापक रुपमा चोरी पैठारी बढेपछि साउनदेखि नै राजश्व असुलीमा ५० प्रतिशतले गिरावट आई लक्ष्यअनुसारको राजश्व असुली हुन सकेको छैन ।
सीमित जनशक्तिको कारण आवश्यकता अनुसार गस्ती परिचालन गर्नमा हुने कठिनाई, एकिन सूचनाको कमी तथा व्यापक तस्कर संजाल र तिनीहरुबाट हुने मोटरसाईकल र मोबाईलको प्रयोगले चोरी पैठारी र निकासी न्युनीकरण गर्न कठिनाई परेकोले दैनिक लाखौं मूल्यको सामानहरु भन्सार छलेर भित्रिन सक्ने अबस्था रहेको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
यी करणले कार्यालयको चालु आर्थिक वर्षको साउन, भदौ  र असोजमा क्रमशः ५६, ६२, र ३७  प्रतिशत मात्र राजश्व असुली भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »