कांग्रेस जिते मधेसीको पक्षमा संविधान संशोधन हुन्छ : प्रम देउवा

प्रकाशित समय 7:54:00 AM
जनकपुर, २२ कार्तिक । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसीको पक्षमा संविधान संशोधन गराउन अगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धनुषाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले भने, ‘‘कांग्रेस मधेसी जनताको पक्षमा संविधान संशोधन गराउन कटिवद्ध छ । तर यसका लागी कांग्रेसलाई दुई तिहाई बहुमत चाहिन्छ ।’ धनुषाका ४ प्रतिनिधीसभा तथा ८ प्रदेशसभाका कांग्रेस उम्मेदवारहरुसंगै मञ्चमा बसेका प्रम देउवाले संविधानमा कमी कमजोरी रहेको स्वीकार गरे । उनले भने, ‘‘मधेसमा अझै पनि गरिबी छ । पछौटेपन छ । मधेसी जनताले संवैधानिक अधिकार पनि कम पाएका छन् । यी समस्याहरुको समाधान संविधान संशोधनबाट मात्र सम्भव छ ।’
जनकपुरलाई धार्मिक तथा सांस्कृतिक धरोहरको संज्ञा दिंदै उनले नेपाल भारतबीचको सम्बन्धलाई जनकपुरले अझ प्रगाढ बनाएको बताए । त्रेता युगमा भएको राम–सीताबीचको विवाह प्रशंगलाई कोट्याउँदै प्रम देउवाले भने, ‘‘दुई देशको आदिकालीन सम्बन्धलाई वर्तमान समयमा पनि जनकपुरले निरन्तरता दिएको छ ।’
कम्युनिष्ट पार्टीहरुलाई धर्म विरोधी पार्टीको संज्ञा दिंदै उनले कांग्रेस धर्ममाथि विश्वास गर्ने पार्टी भएको बताए । उनले भने, ‘‘हामी सबै धर्मलाई सम्मान गर्छौं । कम्युनिष्टहरु जस्तो धर्मलाई अफिम भन्दैनौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा उम्मेदवार विमलेन्द्र निधिले एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनलाई लोकतन्त्रमाथिको षड्यन्त्रको संज्ञा दिए । उनले भने, ‘‘माओवादी र एमालेबीच भएको ६ बूँदे सम्झौताले नेपालमा एकदलीय कम्युनिष्ट शासन प्रणाली लाद्ने आशंका बढाएको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवारहरु आनन्दप्रसाद ढुंगाना, विमलेन्द्र निधि तथा महेन्द्र यादवसंगै प्रदेशसभा तथा समानुपातिक उम्मेदवारहरुसंगै जिल्ला भरिका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »