भ्रष्ट नेतालाई ‘नो भोट प्लीज !’

प्रकाशित समय 8:29:00 AM
                पेशल आचार्य
आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावले देश फूलफेजमा रनक्क तातेको छ । सातै प्रदेशका प्रान्तीय र केन्द्रीय निर्वाचन क्षेत्रमा चुनावी चहलपहल पछिल्लो चरणको उम्मेदवारी दर्तासँगै १२ गतेबाट ह्वात्तै बढेको छ । निर्वाचन आयोगले तोकेको सीमाङ्गित खर्चले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारलाई चुनावमा छोपै लाग्दैन । करोडौं स्वाहा पारेर चुनाव जित्नैपर्ने बाध्यता पार्टीहरूका सामु आएको छ ।
२ नम्बर प्रदेशबाहेक पूरै देश चुनावी सिलसिलामा दुई कित्तामा बाँडिएको छ । पहाडी जिल्लामा बाम र लोकतान्त्रिक गठबन्धनको चरम रस्साकस्सी देखिन्छ । उपत्यकाका धेरै सिटमा द्विपक्षीय र केहीमा त्रिपक्षीय भीडन्त हुँदैछ । काँग्रेस आफूलाई लोकतन्त्रको ‘लाइफ लाइन’ बताउँदै बाम गठबन्धनले बहुमत ल्याएमा मुलुक साम्यवादतर्फ नजानिँदो गरी मोडिने भनेको छ । उता बाम गठबन्धनले चाहिँ आफूहरूले जितेमा मुलुकमा स्थिरता आउने तर्क पेश गरेका छन् । बामगठबन्धन स्थानीय चुनावमा आफूलाई प्राप्त भएको मतमा मख्ख छ भने काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन राजपासँग चुनावी तालमेल गर्न नसक्दा खिन्न छ । २ नं. प्रदेशको प्रतिनिधि सभाको कूल ३२ सिटमध्ये २० सिट राजपालाई दिएर १२ स्थान आफूले लिएको भए काँग्रेसले एक्लैमा चुनाव लड्दा जित्ने सिटभन्दा बढी सिट हुने आंकलन सो क्षेत्रका बुद्धिजीवीहरू गर्दैछन् । यी तर्कहरूमा कति दम छ, त्यो आगामी पुस पहिलो हप्ताबाटै स्पष्ट हुने नै छ ।
झण्डा, तुल, ब्यानर, नमुना मतपत्र, पर्चा, उम्मेदवार कार्ड, लिफलेट र पोष्टरको व्यापार अकासिएको छ । सहरमा ती सामग्री उत्पादन गर्ने व्यापारी र कामदारहरूलाई भ्याई नभ्याई छ । दिनरात नभनी प्रचारसामग्री उत्पादन र गाउँसहरमा वितरण भैरहेका छन् । नेता र कार्यकर्ताहरूलाई फुर्सद् छैन । सबै हतार दौडेका छन् । जोड घटाउ गर्दै मतदाताको तानातान र फकाउने काम हुँदैछ । चुनावी घोषणापत्र हेर्दा सबै पार्टीले पाँच–दस वर्षमा देशै झिलिमिली बनाउने ठेक्का लिएजस्ता देखिन्छन् । जमिनी धरातलभन्दा केही फुटमाथि कल्पना गरेर कोरिएका घोषणापत्र फगत् ‘ढाँटपत्र’ लाग्दैछन् । धनवादी, डनवादी र पुराना नेताहरूकै राइँदाइँले चुनाव विकृत बनाएको छ । ६÷६ पटकसम्म एउटै व्यक्ति चुनावमा उठेको दृश्य हाँसोपरक देखिन्छ भने अर्का्तिरबाट नयाँ र होनहार युवाहरू टिकट पाउनबाट वञ्चित भएका देखिन्छन् । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेचाहिँ ‘युवापुस्ता सक्षम छ’ भन्दै यसपाला चुनावमा उठेनन् । चुनाव क्षेत्रमात्रै परिवर्तन गरेका छैनन् नेताहरूले । दल अदलबदल समेत गर्न भ्याए । सदाबहार सांसदको उपमा पाएका पुराना काँग्रेसी विजय गच्छेदार घुमिफिरी काँग्रेसमै विलय भए । नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई वाम गठबन्धनले सम्मानजनक स्थान नदिएपछि काँग्रेसले समर्थन गरेको ग¥यो ।
माकेका तर्फबाट देउवा सरकारमा ऊर्जामन्त्री रहेका शम्भुलाल श्रेष्ठ काँग्रेसमा भित्रिनासाथ टिकट जिब्ट्याए । एमालेका मोहनसिँह राठौरले पनि मातृपार्टी परित्याग गरी चारतारे झण्डा बोके । काँग्रेस पूर्व सांसाद सिरहाका सुरेशचन्द्र यादव माके प्रवेश गरी गठबन्धनका उम्मेदवार बने । तराईकै अर्का नेता अभिषेकप्रताप शाह फोरमबाट काँग्रेस बने । दल परिवर्तन गर्नेको सूची निकै लामो छ । रामेश्वर राय यादव फोरम लोकतान्त्रिकबाट माओवादी केन्द्र पुगे भने प्रतिनिधि बन्ने लोभकै कारण जंगीलाल राय राजपाबाट काँग्रेस भित्रिए ।
‘कान्तिपुर’ दैनिकमा पत्रकार हरिबहादुर थापा लेख्छन् –‘सरकार परिर्वतन र चुनावका खबत हुने प्रवेश अवसरमुखी चरित्रका उपज हुन् । आउने र ल्याउने दुवैको मूलभूत उद्देश्य अवसर छोप्नु हो ।’ तर यो कुराको हेक्का दल परिवर्तन गर्ने अवसरवादी चरित्रका नेता र भित्र्याउने दल दुवैमा छैन ।
कमल थापा एण्ड कम्पनीले लोकतान्त्रिक गठबन्धनमा रहँदारहँदै झापामा काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला विरुद्ध राजेन्द्र लिङ्कदेनलाई टिकट दियो । ‘गुण्डा नायिके’ भनेर चिनिने दीपक मनाङ्केलाई एमालेले आफ्नो आधिकारिक उम्मेदवारकै दरखास्त फिर्ता गर्न लगाई घुमाउरो बाटोबाट प्रदेशमा जित्ने बाटो खोल्यो । उनी विजयपश्चात् एमाले प्रवेश गर्ने पक्कापक्की जस्तै छ ।
मधेशी नेता हृदयेश त्रिपाठी राजपाबाट एमालेको सूर्य चिन्ह लिई स्वतन्त्र हैसियतमा चुनावी महासंग्राममा होमिएका छन् । उनी चुनाव जितेर बाम गठबन्धनतिरै जाने ध्याउन्नमा होलान् । उता काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिसँग धनुषा ३ मा राजपा नेता राजेन्द्र महतो दमदार भएर चुनावमा भिड्दै छन् ।
काठमाडौँमा अझ रोचक चुनावी माहौल छ । काठमाडौँ १ मा प्रकाशमान सिंहसँग विवेकशील साझाका रवीन्द्र मिश्र पहिलोपल्ट सांसद बन्न पौंठेजोरी खेल्दै छन् । राजधानीबाटै डा.सूर्यराज आचार्य र किशोर थापासमेत युवा मतदाताका मनमा ढुकढुकी बनेर उदाएका छन् । कांग्रेसका लोकप्रिय युवानेता गगन थापालाई पनि बाम र विवेकशील साझा दुवैको प्रहार गतिलो छ । विवेकशील साझाका उम्मेदवारहरूले चुनाव जित्लान–नजित्लान् भन्न सकिने स्थिति छैन तर सहरी युवाहरूको राम्रो मत तान्ने सम्भावना भने क्रमशः बढ्दै छ । यो कुरा स्थानीय निर्वाचनमा विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले पाएको मतबाटै पुष्टि हुन्छ ।
रवीन्द्र मिश्रका शब्दमा–‘विवेकशील साझाले यो पटक राष्ट्रिय पार्टी हुने र अर्कोपटक सरकारको नेतृत्व गर्ने सोच बनाएको छ ।’ जुन नराम्रो सोच होइन । समयले भन्दै छ– अब नेपालमा सेन्टरबाट नयाँ पार्टीहरू आउनु पर्छ । रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गर्न जाँदा देखाएको सादगीपन र नेपाल यातायातमा चढेर फर्केको दृश्यबाटै मतदाताहरूको मन जितिसके होलान् । मिश्र गाडी चढ्न सक्ने हैसियतका नेता हुन् तर उनले जुन शैली पब्लिकमा देखाए त्यो सफा र नमनीय छ । पुराना पार्टीका नेताहरूको क्लासिकल ढर्राहरू (फूलमाला, अबिर र खादा शैली) जनतालाई भद्दा लाग्दै छन् ।
थोत्रा चिन्तन भएका नेतालाई अब युवा मतदाताहरूले मत दिएर जिताउनुको तुकै छैन । देशैभरिका मतदाताहरूमा युवाहरूको बाहुल्यता छ । युवाले चुनावमा राम्रा उम्मेदवारलाई जिताउन गतिमान हुन सिकेन भने अब नेतालाई सबक सिकाउने ठाउँ लोकतन्त्रमा रहने छैनन् । मत हाली सकेपछि हात काटेर दिएजस्तो हुनेछ । पुराना र सोचविहीनलाई मत दिइएमा पाँच वर्षसम्म तिनीहरूले बेथिति र भ्रष्टाचार बढाउन अकण्टक पाउने छन् ।
दुःखको कुरा काँग्रेसले यसपटक लोकप्रिय नेतात्रय धनराज गुरुङ, केबी गुरुङ र गुरुराज घिमिरेजस्ता स्वच्छ छविका नेतालाई टिकट दिएन । एमालेबाट पनि जुझारू नेतृ रामकुमारी झाँक्री र इमान्दार नेता ठानिने ठाकुर गैरे चुनावी माहौलबाट किनारीकृत भए । पार्टीमा सुकिलामुकिला र धनवादले घर गरेको यो दृष्टान्त हो । काँग्रेस, एमाले र माकेहरूमा अब सिद्धान्तको रोइलो गर्नेहरू यसैगरी पाखा लाग्दै जानेछन् । मूलधार भनिएका यी पार्टीहरूको झण्डा, नाम र कार्यकर्ता मात्रै फरक देखिएका हुन् । सारमा काम गराई र भिजन करिब उस्तैउस्तै छ । यी तिनै हुन् जसले भ्रष्ट लोकमानलाई चौतारो र साहसी सुशीला कार्कीलाई शूलीमा चढाए ! कोही कसैभन्दा कम छैनन् । सबैमा भाइभतिजावाद, फरियावाद, धनवाद र डनवादले घर गरेको छ । नेक्सस (मिलीभगत राजनीति) पोलिटिक्सलाई संरक्षण गर्न यिनकै ठूलो हात रहेको छ ।
स्थानीय चुनावताका चितवनमा छोरीलाई मेयर बनाउन देउवा र काँग्रेससँग ऊ बेला निहुरमुन्टी भई रोइलो गर्ने प्रचण्डका चुनावी कमाण्डर उनै हरूवा देवी ज्ञवाली बनेको देख्दा राजनीतिमा जस्तो कार्य पनि पाच्य हुने देखियो । मत च्यात्ने र अन्यायमा पर्नेको सामूहिक फोटो फेसबुक भित्तामा रम्रिएको छ । देउवाकी पत्नी डा.आरजू, प्रचण्डकी बुहारी बिना मगर, ओलीका भान्जा र काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा समेतले जनताबाट अनुमोदन हुने अख्तियारी त पाए तर तिनीहरू यसपटक को कहाँबाट कति मत ल्याएर चुनिन्छन् चुनिदैनन् परिणामले बताउने नै छ ।
राज्य कब्जाको स्थितिमा दल अदलबदल, भ्रष्टप्रति सून्य सहनशीलताको अभाव, नेक्सस पोलिटिक्स, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपालमा झन्झन् जब्बर भएर मौलाउँदो छ । अहिलेको चिन्ता र चासोे यही हो ।
‘चुनावले देशको अर्थतन्त्रलाई चलायमान मात्र बनाउँछ तर आर्थिक विकास गर्दैन ।’ अर्थशास्त्रीहरू चिन्ता जाहेर गरिरहेका छन् । यो चुनाव काँग्रेस, वामगठबन्धन र मधेशवादी दल सबैका लागि जीवनमरणको सवाल बनेको छ । बामहरूको गठबन्धन चुनावबाट सत्ता हत्याउने भन्दा परको दूरदृष्टि राखेर गरिएको छैन । समाजवाद भोटका लागि बाँडिएको ललीपप हो । चुनावपछि सत्ता सुन्दरीको भोगतर्फ सबै सोहोरिने छन् ।
चुनावपछि दुवै गठबन्धनले अपेक्षित परिणाम हाँसिल गर्न सकेनन् भने अर्को नाटक देखाउने छन् । यो देशमा ओली, प्रचण्ड र देउवाजस्ता नेताले देशीय कायापलट गर्ने हुति र बर्कत राख्दैनन् भन्ने कुरा जनतालाई थाहा छ । नयाँ पुस्तामा मात्र त्यो दम छ तर पुरानो पुस्ता अवसर हस्तान्तरण गर्न चाहँदैनन् । नयाँपुस्ता अनेक अवसर पर्खिरहेका छन् । हरेक पार्टीबाट नयाँ पुस्तालाई अघि बढाउनु पर्छ । नयाँ सोच र कार्यशैलीमा मात्र अब देश अघि जान सक्छ ।
संघीयताको कार्यान्वयन गर्न र संविधानलाई आधिकारिकता दिन पनि यो चुनावमा ‘भ्रष्ट होइन प्रष्ट नेता’ चुनिनु पर्ने हुन् । ‘हाम्रो नभएर राम्रो’ लाई प्राथमिकता दिनु पर्ने हो । जसमा दम छ ऊ अघि जाओस् । पार्टी, सिद्धान्त र विचार भनेको सबै नेताले वाग्मतीमा सेलाइसकेका स्थिति देखियो । हिजोका कट्टर राजनीतिक शत्रुहरू आज मित्र बने । नजाने ती भोलि पनि सत्ताको अकण्टक भोगका खातिर आफूले अँगालेको विचार नत्याग्लान् भन्न सकिँदैन । आयाराम गयाराम शैलीले नेपाली राजनीति नग्न भयो ।
देशैभरि ट्राफिक प्रहरीले ‘नो हर्न’ नीति ल्याएझैँ चुनावमा पनि भ्रष्ट नेतालाई ‘नो भोट प्लिज’ को सुनामी ल्याउन सकियो भने मात्र नेपाल नयाँ युगमा प्रवेश गर्ने छ । त्यसका लागि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने युवा समूहले राजनीतिक शुद्धिकरणका लागि आक्रमक ढंगले नियमित अभियान सञ्चालन गर्न ढिलो भैसकेको छ । युवा मतदाताहरूमा यो चेतना क्रमशः विस्तारित होओस् । वर्तमानको चासो यही हो । इमेजखबरबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »