सिरहा, २० कार्तिक । जिल्लाको लाहान नगरपालिका वडा नं. १ की जुनु भगतको जीवन हाँसिखुसी चलिरहेको थियो । एक छोरा, एक छोरी, श्रीमान र श्रीमतीसहित चार जनाको सानो परिवार । श्रीमान मुगुमा कार्यरत, सरकारी शिक्षक ।
छोरा छोरीको भविष्यकै लागि जुनुले घर सम्हालिन् । दशैं र वर्षे बिदामा श्रीमान् घर आउँथे । छोराछोरीलाई पढाउन, खान र लगाउनका लागि भन्दै श्रीमानले पैसा पठाउँथे । जुनुले त्यसबाट बचत गरेर केही जमिन जोडेकी थिईन् । जुनुको परिवारको यो खुसी लामो समयसम्म टिक्न सकेन । पहिले फोन गरिरहने श्रीमान बिस्तारै फोन कम गर्न थाले । फोन गर्दापनि राम्ररी बोल्न छाडे । वर्षे र हिउँदे बिदामा सधैँ घर आउने श्रीमानको घर आउने क्रम पनि पातलिन थाल्यो ।
घर खर्च चलाउनका लागि पैसा पनि पठाउन छाडे । कहिले–काही घर आउँदा घरपरिवारमा झगडा हुन थाल्यो । विवाद हुन जुनुमाथि हातपात समेत हुन थाल्यो । श्रीमानको बद्लिदो बानी बारे जुनुलेपछि मात्रै थाहा पाइन, श्रीमान अर्कै युवतीसँग पल्किएका रहेछन् । जसले उनीहरूको सम्बन्धमा मनमुटाउ आयो ।
आधा भन्दा बढी जीवन सँगै बिताएका श्रीमान् जुनुका हरेक कुरामा खोट देखाउन थाले । ‘घर छोडेर गईहाल । तँ मलाई मन पर्दैन । तैले बनाएको खाना मिठो भएन् । यस्ता अनेकौँ आरोप लगाउन थाले । पटक–पटक म अर्की ल्याउँछु, अर्कैसँग जा भनेर मरणासन्न हुने गरी कुट्न थाले’ शरीर भरि निल डाम देखाउँदै जुनुले भनिन् ।
उनले प्रहरीलाई उजुरी नदिएकी पनि होइनन् । उजुरीकै आधारमा प्रहरीले श्रीमानलाई दुई दिन थुनामा राख्यो । तर श्रीमानलाई प्रहरी खोरमा पठाइस् भनेर आफन्तले कुरा काट्न थाले । छरछिमेकी कसैले पनि उनको पक्षमा बोलेनन् । नेतादेखि अनेकौँ व्यक्तिको धम्की र गाली आउन थाल्यो । उनले सहन सकिनन् । श्रीमानले पनि मुद्धा फिर्ता लिन र मिलेर बस्न आग्रह गरे । चौतर्फी दबाब सहन नसकेपछि जुनुले मिलापत्र गरिन् । त्यसपछि जागिरमा गएका श्रीमानले न पैसा पठाए, न त फोन नै गरे । बरु दशैँमा घर आउँदा अर्की श्रीमती लिएर आए ।
जुनु जस्तै सिरहा सोठियाईनकी आइसा खातुनको अवस्था पनि उस्तै छ । उनका श्रीमान गाउँमै कपडा सिलाउने काम गर्थे । श्रीमानको कमाइले घरखर्च चलेको थियो । दुई भाई छोरा थिए । आइसा घरको काम गर्थिन् । उनीहरूको परिवार सुखको साथ नै चलेको थियो । तर यो सुख धेरै वर्ष टिक्न सकेन् । उनका श्रीमानको व्यवहारमा एक्कासी परिवर्तन आउन थाल्यो । कमाएको पैसा बाहिरै खर्च गर्ने, रक्सि खाएर घर आउने, कहिले नआउने गर्न थाले । घर आए पनि श्रीमतीलाई पिट्ने र गालि गर्न थाले ।
आइसालाई पछि मात्रै थाहा भयो कि उनी आफू भन्दा निकै जेठी महिलासँगै बस्न थालेका रहेछन् । पछि श्रीमान घरै आउन छोडे । अर्की श्रीमती लहान राखेर उनी विदेश गएछन् । विदेश गएको झण्डै एक हप्ता पछि मात्र उनले थाहा पाइन् । नन्द आमाजूले पनि आइसालाई नै गाली गर्थे । सासुले आइसालाई घर छोडेर जा भन्थिन् । तर पनि उनी सहेरै बसिन् । आइसाले दुःखै गरेर भएपनि छोराहरूलाई पढाईन् । श्रीमान विदेश गएपछि न त कहिल्यै फोन नै गरे, न त पैसा नै पठाए ।
उनले सोठियानका किसानले लगाएको तरकारी बिक्रीका लागि ल्याई दिने र त्यही कमाईबाट घर चलाउन थालिन् । तीन वर्ष आइसाले यसरी नै काटिन् । त्यसपछि श्रीमान बिदेशबाट आए । तर उनलाई भेट्न आएनन् । कान्छी श्रीमतीसँगै लहानमै बसे । आमा (सासु) पनि गााउँबाट छोरा बुहारी भेट्न लहान नै पुग्थिन् । उनले एक महिनासम्म श्रीमानको बाटो हेरिन् । त्यसपछि पनि श्रीमान नगएपछि उनले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइन् । तर श्रीमान विरुद्धको उजुरी फिर्ता लिन आइसालाई परिवार, समाज र राजनीतिक पार्टीले दबाब दिन थाले ।
श्रीमान बिरुद्ध मुद्दा दिएर कहाँ बस्छेस् ? भनेर डर देखाए । श्रीमानले पनि अब ६ जनाको परिवार हुनेछ । दुबै परिवार मिलेर बसौँ भनेर फकाए । उनले मुद्दा फिर्ता लिइन् । तर मुद्दा फिर्ता लिएपछि एक पटक पनि नभेटी श्रीमान पुनः विदेश गए । जुनु र आइसा मात्र होईन सिरहामा लोग्नेले सौता भित्र्याएपछि पीडामा पर्ने महिलाको संख्या धेरै छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७०।०७१ मा १२ जना, २०७१।०७२ मा ६ जना महिलाहरूले श्रीमानले बहुविवाह गरेपछि उजुरी दिएका थिए । यस्तै २०७३।०७४ मा ९ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जिल्ला अदालत सिरहामा आर्थिक वर्ष २०७३।०७४ मा ७ वटा बहु–बिबाहका मुद्दा लगत रहेकोमा ५ वटाको फैसला भइसकेको छ ।
श्रीमानले अर्को विवाह गरेपछि न्याय खोज्न प्रहरी र अदालत पुग्ने महिलाको संख्या न्यून रहेको अधिकारकर्मी श्याम साहको भनाइ छ । धेरै महिलाहरूले सौता खेप्नु पर्दा समेत परिवार र समाजको डरले न्यायको पहल नगर्ने गरेको उनले अनुभव सुनाइन् । आफूमाथि अन्याय भएपनि उजुरी गरेपछि कहाँ जाने, कस्को सहारा लिने भन्ने डरले प्रहरीकोमा जाने भन्दापनि सहेर बस्ने महिलाहरू धेरै रहेको पनि साहले बताइन् ।
महिला अधिकारकर्मी रेणु कर्ण भन्छिन् ‘परिवार, छरछिमेकी, समाज गाउँँ घरका अगुवा कसैले पनि हिंसामा परेका महिलाको संरक्षण गरिदिने भन्दा उसैलाई दोष दिने र गाली गर्ने कारणले महिला आफूमाथि भएको अन्याय बिरुद्ध उजुरी गर्नु भन्दा सहेर बस्छन् ।’ श्रीमानकै घरमा बसेर श्रीमान बिरुद्ध कानुनी लडाइँ लड्न सहज र सम्भव नहुने तर्क कर्णको छ । त्यसका साथै महिलाको आर्थिक स्वामित्व केही नहुने जस्ता कुराले पनि न्याय पाउन कठिन हुने कर्ण बताउँछिन् ।
समाजको कुरा समाजमै मिलाउनु पर्छ, प्रहरी वा अदालत जानु हुदैन भनेर समाजका अगुवाहरूले नै महिलाहरूलाई रोक्ने गरेका कारण पनि धेरै महिला हिंसा खपेर बस्न बाध्य हुने गरेको लाहान पडरियाका राजेन्द्र चौधरीको बुझाइ छ । गाउँ, समाज र परिवारले पीडितलाई न्याय दिनको लागि भन्दा पनि पिडककै संरक्षण गर्दा महिलाहरू हिंसाबाट थप पिडित बनिरहेका छन् ।
महिलामाथिको हिंसा नरोकिएसम्म देशमा स्थायी शान्ति र समृद्धि कायम हुने नसक्ने तर्क अधिकारकर्मी डा. रेणु अधिकारीको छ । महिला हिंसा देशको स्वाभिमानसँग जोडिएको विषय भएकाले महिलालाई हिंसामूक्त बनाउनुको विकल्प नरहेको भनाइ पनि अधिकारीको छ ।
