माओवादी उम्मेदवार चढेको मोटरसाइकलमा अवैध पेस्तोल

प्रकाशित समय 7:51:00 AM
किरण लोहनी
गोरखा, २१ कार्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रबाट समानुपातिक सूचिमा रहेकी नेतृ सुशिला सिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले अवैध पेस्तोल बरामद गरेको छ ।
मंगलबार दिउँसो सुरक्षा जाँचका क्रममा भिमसेन गाउँपालिका वडा नम्बर ३ धावामा प्रहरीले ३ राउण्ड गोलीसहितको नाइन एमएम पेस्तोल बरामद गरेको हो । सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलका चालक गुणप्रसाद खनालको झोलामा हतियार फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । चुनावलाई लक्षित गरेर जाँचमा खटिएका प्रहरीले मोटरसाइकल रोक्नासाथ खनाल झोला छोडेर भागेको उनले बताए ।
सुरक्षाजाँचमा एक प्रहरी जवानसहित दुईजना म्यादी प्रहरी मात्रै खटिएकाले उनलाई तत्काल पक्राउ गर्न नसकिएको उनको भनाई छ । खनालले मोटरसाइकलमा बाँधेर ल्याएको झोलामा पेस्तोल भेटिएको हो । माओवादी नेतृ एवम् समानुपातिक उम्मेदवार सिंखडाले भने झोलामा हतियार रहेको बारे आफूलाई जानकारी नभएको बताएको एसपी अधिकारीले बताए । ‘उहाँ आरुघाटबाट गोरखा सदरमुकाम आउँदै हुनुहुँदो रहेछ, बाटोमा लिफ्ट मागेर मोटरसाइकलमा आएको बताउनुभयो’ सिंखडालाई उद्धृत गर्दै एसपी अधिकारीले भने ।
बरामद हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याइने र फरार खनाललाई खोजी गरि कारवाही गरिने उनले बताए । सुरक्षा जाँचका क्रममा हतियार फेला परेपछि चुनावलक्षित सुरक्षा योजनालाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको अधिकारीले बताए । माओवादी केन्द्रले भने हतियार बोकेर हिँडेका खनाल आफ्नो पार्टीमा आवद्ध भए नभएको बारे सोधखोज भैरहेको जनाएको छ ।
गएको आइतबार भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा तनाव बढेको थियो । गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद बढेको थियो । कार्यपालिकामा आवद्ध अन्य पार्टीका सहभागीलाई जानकारी नै नदिई केन्द्र सार्ने निर्णय गर्न खोजिएको नेकपा माओवादी केन्द्रले आरोप लगाएको थियो ।
केन्द्र सार्ने विषयमा बैठकमै असन्तुष्टि बढेपछि माओवादी केन्द्रबाट निर्वाचित एक कार्यपालिका सदस्यले निर्णय पुस्तिकानै च्यातिदिएका थिए । त्यसपछि केन्द्र सार्नु पर्छ र सार्नु हुन्न भन्ने विषयमा कार्यपालिका सदस्यहरुबिचमै विवाद बढेको थियो । विवाद बढ्दै जाँदा केन्द्र सार्ने विषयको पक्ष र विपक्षमा रहेका सर्वसाधारणबिच झडप पनि भएको थियो । झडपका क्रममा एक स्थानीय युवामाथि धारिलो हतियार प्रहार भएको थियो । त्यसको दुई दिनपछि नै माओवादी समानुपातिक उम्मेदवार चढेको मोटरसाइकलमा अवैध पेस्तोल भेटिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »