बिर्तामोड नगरपालिकामा गत असोज महिनाको पहिलोसातादेखि यो रोगको संक्रमण देखापरेको थियो । योसँगै मेची नगरपालिका र दमक नगरपालिकामा डेंगु रोगी फेला परेका थिए । अहिले तीन नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकामा पनि डेंगु रोगी फेला परेका छन् । झापामा डेंगु रोगीको संख्या बढेपछि असोज ६ गते जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ३०० कीट खरिद गरेको जनस्वास्थ्यका डेंगु रोग नियन्त्रण शाखाका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिए ।
डेंगु रोगको लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पूर्जा हेरेर मात्र बिरामीको रगत परीक्षण गराउँदै आएको पौडेलले बताए ।
झापामा अहिले मेची अस्पतालसहित अधिकांश हेल्थ पोष्टमा डेंगु टेष्ट कीटको अभाव भएको छ । मेची अञ्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेंगु रोग परीक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यको ल्यावमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्यावमा कीट छैन ।
अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताए । झापामा ५१३ जना डेंगु रोग लागेका बिरामी फेला परिसकेका छन् भने अर्जुनधारामा एकजनाको ज्यान गइसकेको जनस्वास्थ्यले जनाएको छ । डेंगु रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले धुवाँ छर्किने अभियान सञ्चालन गरिरहेको छ ।
