लाखौको लगानीमा जिर्णोद्धार भएको ताल बेवारिसे अवस्थामा

प्रकाशित समय 7:50:00 AM
कमलेश कुमार यादव
सिरहा, २२ कार्तिक । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चार वर्ष अगाडि लाखौको लगानीमा जिर्णोद्धार गरिएको लहान–१७ स्थित देवी दह उपभोक्ता समितिको लापरबाहीले बेवारिसे बन्दै गएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७०÷७१ मा नेपाली सेनाले जनश्रमदान बाहेक ७६ लाखको लगानीमा जिर्णोद्धार गरेपछि उक्त दह आन्तरिक पर्यटनको गन्तव्य स्थल बनेको थियो । नेपाली सेनाले दहको जिर्णोद्धारका साथै दहको चारैतिर घुम्न विभिन्न स्थानमा विश्राम गर्ने तथा शौचालय सहित पिकनिक गर्ने स्थल समेत निर्माण गरेको थियो ।
५० हेक्टरको सामुदायिक वनभित्र साढे छ हेक्टरमा फैलिएको उक्त दहमा पाँच वटा बोट समेत नेपाली सेनाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि देवी दह घुम्न, पिकनिक, स्थानीय गीतहरुको छायांकन तथा मनोरञ्जन गर्न सिरहा, सप्तरी तथा उदयपुरका बासिन्दाहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको थियो ।
तर हस्तान्तरण भएको चार वर्ष नपुग्दै दहमा अहिले तैरिने चार वटा बोट बिग्रिएर थन्किएको छ भने झार र जलकुम्भीले दह भरिएको छ । दहको आकर्षण नै लोप हुँदै गएपछि अहिले त्यहाँ पुग्ने गरेका आन्तरिक पर्यटक स्थानीय उपभोक्ता समितिका पदाधिकारीलाई सराप्दै फर्किन थालेका छन् । स्थानीयबासीले सामुदायिक वन र देवी दहको आम्दानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रमान सार्की र जिल्ला वन कार्यालयका कर्मचारीहरुले मिलेर हिनामिना गरेकोले देवी दह बेवारिसे बन्दै गएको गुनासो गर्दै आएका छन् ।
हामीले पटक पटक अध्यक्षलाई भेला बोलाएर हिसाब पारदर्शी गर्न तथा देवी दहको मरम्मत सम्भार गर्न ताकेता गरिरहेका छौं तर उहाँले सुन्नुभएको छैन, देवीदह सामुदायिक वन उपभोक्ता समितिका पुर्व अध्यक्ष रामचन्द्र यादवले भने, हिजोको दिनमा समितिमा राजनीतिक करण गरेर मलाई राजीनामा दिन बाध्य तुल्याइयो त्यसको परिणाम आज सबै उपभोक्ता र आन्तरिक पर्यटकहरुले भोगिरहेका छन् ।
देवीदह सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रमान सार्की भने अब छिटै नै देवीदहलाई मरम्मत सम्भाार गरी यसलाई व्यवस्थित बनाइने बताउनुहुन्छ तर देवीदहको आम्दानी र यसको मरम्मतको सवालमा उठिरहेको प्रश्नको कुनै जवाफ दिन उहाँ चाहनुहुन्न ।
देवीदहको अवस्था देखेर हामीलाई पनि दुख लागेको छ, भर्खरै नवनिर्वाचित लहान नगरपालिकाका वडा नं. १७ का वडा अध्यक्ष प्रथमलाल चौधरीले भने, छठपछि उपभोक्तासहित सर्वपक्षीय भेला बोलाई देवीदहमा थुप्रिएका झार र जलकुम्भी हटाई यसलाई पुनः आन्तरिक पर्यटनको रुपमा फर्काउने योजना बनाएका छौ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »