महोत्तरी, १९ कार्तिक । नेपाली कांग्रेसले महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई समर्थन गरेको छ । ठाकुरलाई समर्थन गर्ने भन्दै महोत्तरीको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएको छ । पार्टीको केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको नेपालीले बताए ।
ठाकुर कांग्रेसकै पूर्व नेता हुन । उनले मधेस र मधेसीका मागमा कांग्रेस सकरात्मक नहरेको भन्दै २०६३ सालमा कांग्रेस परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेको थियो । कांग्रेस त्याग्ने बेलामा उनी कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्र थियो ।
२०७० सालको संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर ६ मा उनी पराजित भएको थियो । गत असोजमा भएको स्थानीय तह चुनावमा भोट हाल्न नै नगएका ठाकुरले स्वास्थ्यका कारणले भन्दै यो पटक चुनाव नलड्ने बताउँदै आएको थियो । तर अन्तिममा उनी आफ्नो पुरानो क्षेत्र छाडेर महोत्तरीमा उम्मेदवार बन्न पुगेको थियो ।
महोत्तरीमा ठाकुरलाई कांग्रेसले समर्थन गरेपनि धनुषामा भने कांग्रेस नेता बिमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबिच प्रतिस्पर्धा हुँदैछ । ‘राष्ट्रिय राजनीतिकको केहि कारणवश मलाई केन्द्रिय तहले उम्मेदवारी फिर्ता लिन आईतबार आग्रहपुर्ण निर्देशन गरेको थियो’ नेपालीले भने ‘त्यो निर्देशन अनुसार मैले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएँ ।’
महोत्तरीका मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले नेपालीको उम्मेदवारी फिर्ता भएको जानकारी दिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि महोत्तरीमा २ सय १४ जना उम्मेदवार बनेका छन् ।
