बुधबार साँझ भारत, लुधियानाका जसवीर सिंह र हरदेवेन्द्र सिंह कमलादीको हेरिटेज प्लाजास्थित ज्याक डेनिस डान्सबारमा गोली चलाएलगत्तै पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ७ दशमलव ६५ एमएमका ५१ थान गोली र ७५ हजार भारु बरामद गरेको थियो ।
उनीहरू मंगलबार मात्रै भैरहवाको सुनौली नाका हुँदै पीबी १० एफएस ७४४९ भारतीय नम्बरको गाडी चढेर काठमाडौं आएका थिए । उनीहरूले सोही डान्सबारमा मादक पदार्थ सेवन गरेका थिए । २२ हजारको बिल उठेपछि पैसा तिर्ने निहुँमा भनाभन भएपछि उनीहरूले बन्दुक झिकेका थिए । बारका कामदारसँग झगडा सुरु भएपछि उनीहरूले होटलको छत ताकेर फायर गरेका थिए ।
प्रहरीले होटलमा कार्यरत दुई युवतीलाई पनि उनीहरूसँगै पक्राउ गरेर कमलपोखरीस्थित प्रहरी वृत्तमा पु¥याएको थियो ।
