घरबाट निस्कन डराउने किशोरी अहिले हान्छन् ‘राउन्ड किक’

प्रकाशित समय 8:07:00 AM
मनिका झा
जनकपुर, २३ कार्तिक । १६ वर्षीया रजिना खातुनलाई पहिला सरसामान किन्न बजार जान डर लाग्थ्यो । उनी नचिनेका व्यक्तिहरूसँग डराउँथिन,
कसैले जिस्काउँदा वा नराम्रो व्यवहार गर्दा पनि उनी सुनेको नसुन्यै गरेर हिँड्थिन् । तर, अहिले कसैले छोयो वा जिस्क्यायो भने सोझै राउन्ड किक हाल्ने हिम्मत उनमा आएको छ ।
‘अब त कसैले जिस्कायो भने खान्छ कुटाई’, रजिना हिम्मतका साथ भन्छिन् । रजिना जस्तै १४ वर्षीया कविता महरा पनि आफूलाई विद्यालय, बजार वा अन्यत्र कसैले दुव्र्यवहार गर्न खोज्यो भने सहेर नबस्ने बताउँछन् । उनमा अहिले प्रतिकार गर्ने हिम्मत आएको छ । बिहीबार जनकपुरस्थित ग्रामीण प्रशिक्षण केन्द्रमा आत्मरक्षा प्रशिक्षण लिइरहेका किशोरीहरूमा गज्जबको उर्जा देखिन्थ्यो । सर्च फर कमन ग्राउन्डको आयोजनामा धनुषा जिल्लाका १३ देखि १९ वर्ष उमेर समूहका ४८ जना किशोरीहरूलाई पाँच दिनको आत्मरक्षा तालिम दिइएको हो । तालिमको अन्तिम दिन आफूले सिकेका ज्ञानको प्रयोगात्मक प्रर्दशन देखाउँदै गरेका किशोरीहरू प्रशिक्षक माथि पनि भारी परेका थिए ।
मधेसमा किशोरीहरू घर, समुदाय, विद्यालय र सार्वजनिक थलोमा असुरक्षित भएको अवस्थामा उनीहरूलाई अरु माथि निर्भर हुनुका साटो आफ्नो सुरक्षा आफैं गर्ने उद्देश्यले आत्मरक्षा तालिम दिइएको आयोजक संस्थाका आलोक ठाकुरले बताए । किशोरीहरूलाई खतराका क्षेत्रबारे समेत विशेष जानकारी गराई हिंसा र असुरक्षाको अवस्था आइपुग्दा कसरी जोगिने भन्ने सीपहरूबारे प्रयोगात्मक ज्ञान दिइएको प्रशिक्षणमा प्राविधिक सहयोग गरेको परित्राणका प्रशिक्षक उद्धव थापा मगरले बताए ।
किशोरीहरूले प्रहरीमा आफ्नो समस्या राख्न वा उजुरी गर्न डराउने हुनाले यस तालिमका माध्यमबाट उनीहरूलाई प्रहरीप्रति सकारात्मक भावना विकासका लागि समेत उत्प्रेरित गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए । ’किशोरीहरू हाम्रो समाजमा सबैभन्दा बढी हिंसामा परिरहेका छन् तर उनीहरू कसैलाई आफ्नो पीडा भन्न सक्दैनन’, उनले भने, ’यस्तोमा उनीहरुलाई प्रहरी साथी हो भन्ने भावना जगाउन आवश्यक छ ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »