दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

प्रकाशित समय 4:25:00 AM
राजु विश्वकर्मा
लहान, ४ मंसिर । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान छ । 
राष्ट्रिय जनता पार्टी नेपाल  (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री अजय शंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो ।
प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद मोख्तार अहमद पनि सशक्त उम्मेदवारका रूपमा हुन । 
विगतदेखि नै कम्युनिस्ट पार्टी को पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहमध्ये गत असोज २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नरहा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको थियो भने कल्याणपुर नगरपालिकामा काँग्रेस र विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय हासिल गरेको थियो । 
पार्टीभित्र पनि कुशल संगठक का रूपमा परिचित माओवादी नेता नायक स्थानीयस्तरमा राम्रो पकड भएको नेताका रूपमा चिनिन्छ ।
जनतामाझ लोकप्रिय नेताका रूपमा पहिचान बनाउनु र स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले मत पाएकाले वाम गठबन्धनका उम्मेदवारलाई चुनावी अंकगणितको हिसाबले अरू उम्मेदवारभन्दा केही अगाडि देखिएको बुद्धिजीवीहरू का भनाइ छ । 
जनयुद्धकालदेखि नै अविनाश का रूपमा पहिचान बनाउन सफल पूर्वमन्त्री नायक चुनाव आफूले जित्ने बताउछ । उनले भन्छ, “जनताकै बीचमा रहेर विगतदेखि नै जनप्रिय काम गरेकाले आफूलाई जनताले निर्वाचित गर्नेछ ।” 
मधेश आन्दोलनकै बीचबाट राजनीतिमा सक्रिय भएका राजपा नेता यादवले पूर्वमन्त्री नायकलाई ठूलै टक्कर दिने अनुमान छ । यस क्षेत्रको दक्षिणी भेगमा यादव समुदायको बाहुल्यता रहेको र मधेश आन्दोलनको प्रभाव क्षेत्रसमेत भएकाले राष्ट्रियस्तरमै बौद्धिक नेताका रूपमा पहिचान बनाएका यादवको पक्षमा पनि चुनावी परिणाम आउन सक्ने एकथरिको भनाइ छ तर यस क्षेत्रका बुद्धिजीवीले कम्युनिस्ट को पकड मानिएको यस क्षेत्रमा राजपा नेता यादवलाई जित्न गाह्रै हुने विश्लेषण गर्न थालेका छन् । 
मधेश आन्दोलनकै बीचबाट सक्रिय राजनीति शुरु गरेका राजपा नेता यादवले आफ्नो जित्ने आधार बलियो रहेको दाबी गरेको छ । मधेश आन्दोलनको उद्गमस्थल हो सिरहा, उनले भने, “मैले यहाँ बसेर मधेश र मधेशी जनताका लागि संघर्ष गर्दै आएकाले आफूलाई यहाँको जनताले रोज्छ भन्नेमा विश्वस्त छु ।” त्यस्तै प्रखर वक्ता र इमान्दार छविका नेताका रूपमा परिचित काँग्रेस उम्मेदवार मोख्तार अहमद पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छ । 
पहाडी समुदायका साथै दलित, यादव र मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यी तीनैजना बीचको प्रतिस्पर्धा रोचक हुने स्थानीय बुद्धिजीवीको कथन छ । तीनैजनाले आफ्नो जित निश्चित रहेको दाबी गरे पनि जनताको अभिमत कसको पक्षमा आउने अहिले नै अनुमान गर्न गाह्रो रहेको स्थानीयवासी बताउँछन् । 
सिरहाको १७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा पुरुष ४३ हजार १९६ र महिला ३८ हजार १०६ गरी कूल ८१ हजार ३०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »