हुलाकी लोकमार्गलाई पुर्णता दिइने प्रधानमन्त्री देउवा

प्रकाशित समय 10:38:00 PM
सन्तोष सुवेदी
सिरहा, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसले आउँदो निर्वाचनमा बहुमत ल्याएमा नेपालको दक्षिणी भेगमा रहेको हुलाकी लोकमार्ग लाई आउदो पाँच वर्षभित्र पूर्णता दिने बताए ।
नेपाली काँग्रेस सिरहा क्षेत्र नं. १ को आयोजनामा विहीबार हुलाकी लोकमार्गको सिरहा खण्डको पुरानो बजार भगवानपुर बजारमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले हुलाकी लोकमार्ग ले पूर्णता नपाउँदा दक्षिणको विकास हुन नसकेको बताउँदै नेपाली काँग्रेसको अबको सरकार ले हुलाकी लोकमार्गलाई प्राथमिकता मा राखेर काम गर्ने बताए ।
उनले लहानलाई भारतसँग जोड्ने ठाडी बजारमा रहेको छोटी नाकालाई मूल नाका बनाउने र उत्तरतर्फको उदयपुरलाई प्रत्यक्ष जोड्न उदयपुरको नेपालटारसम्म पक्की सडक निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै लोकतन्त्रलाई सँस्थागत र मधेशीको अधिकार लाई सुनिश्चित गर्न नेपाली काँग्रेसको जित आवश्यक रहेको बताए । वामगठबन्धनले अनेक नारा र आश्वासन दिएर जनतालाई झुक्याउने प्रयास गरिरहेका छन् तर वाम गठबन्धनको शासनले एकदलीय अधिनायकवादी शासन मात्र लाद्ने गर्दछ, प्रधान मन्त्री देउवाले भने, त्यसैले वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने भएकाले जनताले लोकतन्त्र को रक्षाको लागि नेपाली काँग्रेसलाई जिताउनै पर्ने भएको छ । नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मधेशीको अधिकार सुनिश्चित गर्न नेपाली काँग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव असफल बनाएर नेकपा एमालेले मधेशी जनताको भावनामा खेलवाड गरेको बताउँदै यसको जवाफ मधेशी जनतालाई आउदो निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा बहुमत दिएर फर्काउन आह्वान गरे ।
नेपाली काँग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप गिरिले मधेशी जनताको अभिमत नेपाली काँग्रेसलाई मात्र जाने भन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै नेपाली काँग्रेसको स्थिर सरकार मा भएमा पाँच वर्षभित्रै नेपाल रोजगार र विकासमा आत्मनिर्भर हुने बताए ।
प्रतिष्ठित उद्योगपति विनोद चौधरीले नेपाली काँग्रेसले मात्र विकास निर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू सो पार्टीको प्रचारमा लागेको उल्लेख गर्दै नेपालमा औद्योगिक क्रान्तिका बाधक कम्युनिष्ट नै भएकोले समृद्ध राष्ट्रका लागि लोकतान्त्रिक शासन व्यवस्था हुनु आवश्यक रहेको बताए ।
मधेशमा विगतको १० वर्षे जन युद्ध र त्यसपछिको १० वर्ष मधेश आन्दोलनले खायो, उद्योगपति चौधरीले भने, अबको वर्षलाई मधेशले समृद्धको वर्षहरु बनाउनु पर्ने र यसको लागि लोकतान्त्रिक दललाई नै निर्वाचित गराउनुपर्छ अनि मात्र यहाँबाट पलायन भएका उद्योगहरु पुनस्र्थापित हुनसक्छ र मधेशका युवाहरु विदेशिनु पर्दैन ।
चुनावी आमसभामा नेपाली काँग्रेसका नेताहरु वालकृष्ण खाँड, चित्रलेखा यादव, पद्म नारायण चौधरी, प्रदेश सभा क्षेत्र नं. १ (क) का उम्मेदवार सन्तोष कुमार चौधरी, (ख) का उम्मेदवार देवनाथ यादव, क्षेत्रीय सभापति अचमितलाल चौधरी, नेविस का केन्द्रीय उपाध्यक्ष सञ्जय यादव लगायतका वक्ताहरुले मन्तव्य दिए ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »