प्रदीप गिरिको चुनावी सभामा “सामाजिक मुद्दा”

प्रकाशित समय 6:26:00 AM
लहान, १२ मंसिर । सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार तथा नेपाली  कांग्रेसका नेता प्रदीप गिरिले हिजो लहानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाइजो र वालविवाहको मुद्दा उठाएका छन् ।
सभालाई सम्बोधन गर्दै गिरिले भने, शिक्षाको अभावले छोरीहरु लाई सानै उमेरमा अभिभावकले विवाह गरिदिन्छन् । वालविवाह र दाइजोले महिला हिंसा बढेको छ । अधिकारको लागि महिलाले लड्नु पर्छ । त्यसमा सबैले छोरी लाई साथ दिनुपर्छ । उनले छोरी लाई शि
क्षा दिएर उमेर पुगेपछि विवाह गरिदिन थालियो भने महिला हिंसामा कमि आउने बताए ।
नेता गिरिले अहिले पनि समाज मा छोरा पाउने निहूँमा छोरीको भु्रण हत्या भइरहेकोले यस्तो कार्य रोक्नको लागि महिला शिक्षामा जोड दिनुपर्ने बताए । पढ्न चाहने हरेक महिलालाई  आफुले छात्रवृतिको व्यवस्था गर्ने काँग्रेस नेता  गिरिले सुनाए । उनले संविधान लेख्ने काम अहिले पुरा नभएको दावी गर्दै संविधानमा मधेश, दलित, महिला, जनजाति को हकहितको लागि संसोधन गर्न बाँकी रहेको तर्क दिए । सोही कामको लागि  आफु प्रतिनिधि सभाको लागि चुनाव लडेको बताए । उनले आफुलाई खान, बस्नको लागि नभई मधेसको आशा, आकांक्षा पुरा गर्नका निम्ति भोट चाहिएको बताए ।
उनले आफू ५० बर्षदेखि जनता को अधिकारको लागि राजनीतिमा लड्दै आएको र यो आखिरि पटक लड्न लागेको दावी गरे । आफ्नो उम्मेदवारी अन्तिम पटक भएकाले यो घडीमा सबैसँग  सहयोगको आग्रह गरे । दलित, महिला, जनजाति, मधेसीको अधिकारको लागि आफ्नो जीवन सार्थक गर्न चाहेको उनको कथन थियो । संविधानमा सबैको अधिकारको यथोचित व्यवस्था हुनु पर्ने उनको तर्क छ ।
गिरिको विकासको मुद्दा सम्बोधनकै क्रममा नेता गिरिले लहानलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले लहानमा धेरै कलेजहरु छन् तर यहाँ विश्वविद्यालयको जरुरी छ । यहाँ स्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसलाई  एउटा स्वायत विश्वविद्यालय बनाउने उद्घोष गिरिले गरेका छन् ।
यस क्षेत्रको विकासका निम्ति लौकहा ठाढी सडकलाई चार लेनको बनाएर लहान हुँदै काभ्रेमहादेव  स्थान, उदयपुरको नेपालटार हुँदै खोटांगको हलेसी सम्म पु¥याउने बताए । ठाढी भन्सारलाई मुल भन्सारको रुपमा तीन महिनाभित्रै संचालन गराउने उनले बताए । किसानका लागि विजुली सरल बनाएर सिचाईको व्यवस्था, स्वास्थ्यको उचित व्यवस्था गर्ने बताएका छन् ।
प्रदीप गिरि सिरहाको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका छन् । उनको प्रतिस्पर्धामा एमालेका गंगाप्रसाद यादव र संघीय समाजवादी फोरम नेपालका राजलाल यादवले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट प्रदेश सभा (क)मा संतोष चौधरी र (ख)मा देवनाथ यादव उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »