विवाह महोत्सवको रौनक

प्रकाशित समय 4:46:00 AM
जनकपुरधाम, ६ मंसिर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिला वासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।


एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भीड लागिसकेको छ । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बर का लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।
गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ । पौराणिक व्यवस्थाअनसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलामा राखी रंगभूमि पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलामा राखी रंगभूमिमा पु¥याइन्छ । रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।
त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा अधिराज्यका विभिन्न ठाउँ लगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् । रंगभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्क झाँकी र लाखौँ संख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा पनि रमाइलो हुने गरेको छ ।
फूलबारी प्रसंगदेखि स्वयम्बर सम्मको आयोजनाले महोत्सव देवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभूति गर्दै सहभागी मिथिलाका नारी तथा पुरुष आफूलाई धन्य सम्झन्छन् ।
महोत्सवका दिन श्रद्धालु बिहान सबेरैदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »