केही मानिसको मनमा मधेस आन्दोलनका मुद्दा जीवितै छन !

प्रकाशित समय 1:35:00 AM
सुरेन्द्रप्रसाद यादव, सहप्राध्यापक
सिरहा क्याम्पसका अंग्रेजी विभागका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादव मधेसको राजनीतिक उतारचढावलाई नजिकबाट नियालिरहेका बुद्धिजीवी हुन् । उनै यादवसँग सिरहाको सदरमुकाम पुगेर किशोर दहालले गरेको कुराकानीः–
यो चुनावप्रति मधेसी जनता को अपेक्षा के छ?
लामो समयदेखि विकास नभएकाले विकास हुन्छ कि भन्ने अपेक्षाले चुनावमा मधेसी जनताले भाग लिइरहेका छन् । तर, खासमा रहरले चुनावमा भाग लिएका होइनन् । धेरैजसो जनता अहिले चुनावको पक्षमा चाहिँ थिएनन् । किनकि, मधेसी जनता ले विगतमा उठाइरहेको मागहरु पूरा भएका छैनन् । उनीहरुले कुनै असम्भव माग राखेका थिएनन् । मधेस आन्दोलनमा मधेसले उठाएका मागहरु अझै पनि मधेसी जनताले पाएका थिएनन् । त्यसैले बाध्यतावश मानिसले चुनावमा भाग लिनुपरिरहेको छ । कारण, कुनै गाउँमा ५० भोट खस्यो भने २६ ल्याउने त जित्छ । त्यो जुनसुकै पार्टीको पनि हुनसक्छ । स्थानीय चुनावमा अलि बढी उत्साह थियो, तर यो चुनावमा मानिसमा धेरै अपेक्षा छैन । तर, चुनाव हो, चुनावमा जानुपर्छ ।
चुनाव हो, चुनावमा जानुपर्छ भनिसकेपछि मानिसले केही अपेक्षा त पक्कै राख्लान् नि !
अपेक्षा दुई–तीन थरीका हुन्छन् । जनता पनि दुई तीन थरीकै हुन्छन् । एकथरी यथास्थितिवादमा बाँच्ने जनता हुन्छन् । उनीहरु आफ्नो पार्टी हुन्छन् । उनीहरुलाई मधेस को मुद्दा र परिवर्तनका मुद्दासँग खासै मतलब हुँदैन । जुन पार्टीमा लागेको हो, त्यसैमा मत दिन्छन् । अर्काथरी मानिस छन, जसको मनमा मधेस आन्दोलनका मुद्दाहरु मरेका छैनन् । राज्यले षड्यन्त्र मूलक ढंगले आन्दोलन दबाए पनि उनीहरुको मनमा त्यो मुद्दा जीवितै छ । उनीहरु नेतृत्वले चुनावमा जाने निर्णय गरिसके पछि संसदमा आफ्नो मुद्दा राख्ने केही मानिस पनि पुगून् भन्ने चाहन्छन् । अरुले आफूलाई चुनाव नचाहने शक्ति भनेर नभनोस् भन्ने सचेचता उनीहरुमा देखिन्छ । बरु, पछि आन्दोलन गर्ने, संघर्ष गर्ने छँदैछ भनेर चुनावमा जानेहरु छन् । जनतामा त विकासको चाहना बढी देखिन्छ । अधिकारको व्याख्या त निकै कमले मात्रै गर्छन् नि!
विकास त्यसै ठाउँमा सम्भव छ, जहाँ अधिकार छ। सुशासन त्यसै ठाउँमा सम्भव छ, जहाँ स्वशासन छ । जहाँ स्वशासन छ, त्यहाँ सुशासन हुन्छ । जहाँ स्वशासन छ, त्यहाँ विकास हुन्छ । तर, यहाँ विकासको नारा लागिरहेको छ । सबैले सोच्नुपर्छ, विकास कसरी हुन्छ? यहाँका जनताले अधिकार खोजेका छन, तर लोभ्याउनलाई विकास भनिएको छ ।
अधिकारको कुरा उठाउने नेताहरु नै विकासको सपना बाँडिरहेको छ । अनि जनताले विकासको चाहना देखाउनु स्वाभाविकै होइन र?
नेताहरु हाम्रै भूमिका हुन, हाम्रै नेताहरु हुन् । मधेसको मात्र होइन, यो देशकै नेताहरुको काम गराइ, भनाइ र सोचाइमा तालमेल छैन । जुन नेताको पदमा पुगौं, पैसा कमाऔं भन्ने लक्ष्य छ, उनीहरु नै जथाभावी विकासको नारा दिन्छन्। सबै जनता शिक्षित र चेतनशील नभएका कारण पनि उनीहरुलाई सहज छ ।
मधेस केन्द्रित दलहरुले यो चुनावमा राम्रै नतिजा ल्याउने अनुमान चलिरहेको छ । यसले संविधान संशोधन गराउने रणनीतिमा सफलता दिलाउने सम्भावना कतिको छ?
छैन । त्यो सजिलै बुझिने कुरा हो। मधेसबाट दस–बीस जनाले जितेर गए पनि यहाँको भोट अप्रत्यक्ष रुपमा कांग्रेस र एमाले लाई जान्छ । हामी मधेसका जनता ले मधेसकै नेतालाई जिताएर पठाए पनि उनीहरुले सरकार बनाउन सक्दैनन् । मधेसको सिटलाई अन्य दलले साथ दिएर संविधान संशोधन हुन्छ भन्नु दिवास्वप्न मात्रै हो ।
त्यो दिवास्वप्न मात्रै हो भने ००७ सालदेखिको मधेसको असन्तुष्टि र पछिल्लो १० र १२ वर्ष यताको सक्रिय मधेस संघर्षको निकास चाहिँ के हुन्छ त?
मधेसले आधारभूत अधिकार को लागि लडाइँ लडिरहेको छ । संसारको अनुभवलाई पनि हेर्दा के भन्न सकिन्छ भने त्यो माग पूरा गर्नका लागि १० र १२ वर्ष मात्रै होइन, लामो समय लाग्न सक्छ । त्यसको निकास तत्काल भइहाल्छ भन्ने होइन । यो व्यवस्थाले मधेसका जनतालाई जुन कुरा दिनुपर्ने थियो, त्यो दिएन । मधेसका केही नेताले जितेर गए पनि सरकार बनाउन पाउँदैनन, सक्दैनन् । त्यसपछि उनीहरुले कहिले कांग्रेसलाई र कहिले एमालेलाई सरकार बनाउन भोट दिन्छन् । अघि मैले भनेको अप्रत्यक्ष रुपमा कांग्रेस एमाले लाई भोट जान्छ भनेको यसै कारणले हो । त्यसैले खेलहरु विगतकै जस्तो हुनेछ । संविधान संशोधन हुन सक्दैन । चुनावपछि फेरि यहाँ नयाँ खालको माहोल हुन्छ । जनताको चाहना जबसम्म पूरा हुँदैन, आन्दोलन भइ नै रहन्छ ।
जनताले मत हाल्दा उम्मेदवार को कुन कुरालाई बढी ख्याल गर्छन?
जनता भनेको एउटा भिड पनि हो । कहिले जनताले नेतालाई र नेतालाई जनताले बाटो देखाउँछन् । बढीचाहिँ नेताले जनतालाई हाँक्छन् । यहाँका जनता त्यति धेरै सचेत छैनन् । यहाँ सिद्धान्त, व्यवहार, नातागोता, राज्यको चलाखी र आर्थिक प्रभाव पनि छ । अर्कोतिर चार जना चोरले चुनाव लडेका छन् भने एउटा चोरले नै जित्ने हो । कुनै पहिलो, कुनै दोस्रो । कुनैले जित्छ । स्थानीय तहको चुनावमा हामीले देख्यौं, यहाँ पैसाको खोला बग्छ । यो जनतालाई बिगार्ने काम हो । 
उम्मेदवारहरुले कति पैसा खर्च गर्छन?
कति–कति ! त्यसको कुनै ठेगान छैन । मैले आफूले त देखेको छैन । लाखौं, करोडौं खर्च गर्छन् भन्ने अनुमान गर्न सकिन्छ । तर त्यो कहाँबाट आउँछ, त्यो तपाईं मिडियाकर्मीलाई थाहा होला ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »